प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमलाई अघि बढाएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रश्नोत्तर कार्यक्रममा माओवादीका सांसद माधव सापकोटाले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
जवाफमा प्रधानमन्त्री ओलीले भने- सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई उनीहरुको पुँजी, सीप र अनुभवलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्नुरहेको छ। सरकारले वि.सं. २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ। नेपालको विकासका प्रमुख क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, उर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था छ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई “राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम” को रुपमा पुनर्संरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको छ।
वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेश प्रदेशका २० पालिकामा “रेमी परियोजना” अन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ। जेन जी पुस्तालाई लक्षित गरी स्टार्ट अप, नवप्रवर्तन कार्यक्रममार्फत् उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन भईरहेका छन्।
त्यस्तै अर्को प्रश्नमा सापकोटाले सोधे- राष्ट्रिय महत्वको तर लामो समयदेखि बन्द अवस्थामा रहेको सिन्धुपाल्चोकको लिसंखु पाखरमा खानी र बलेफी गाउँपालिका लामोसाँघुमा कारखाना रहेको ओरेन्ट म्याग्नेसाइट पुनःसञ्चालन गरी उत्पादन र रोजगारी सिर्जना गर्ने सरकारको योजना के छ?
ओलीले भने - नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ बैशाख १५ गतेको बैठकबाट नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालि लगायतका ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भए बमोजिम अर्थ मन्त्रालयबाट डिउ डेलिजेन्स अडिटका लागि विज्ञ छनौट गर्न प्रस्ताव आह्वान गरिएको छ।
Shares

प्रतिक्रिया