पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा एमालेले गरेका निर्णयप्रति कतिपयले अच्चम मानेर आफू छक्क परेको प्रतिक्रिया जनाएकी छिन्।
एमालेको मंगलबार रातिसम्म बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको थियो। भण्डारी मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष समेत रहेकी उनले त्यसप्रति सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै यस्तो निर्णयमा पुग्न तिगडम गरिएको समेत आरोप लगाएकी छिन्।
‘तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें,’ भण्डारीले लेखेकी छिन्, ‘तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ?निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीँ अच्चमित छैन।’
उनले थपेकी छिन्, ‘म खुसी छु कि यो खुला रूपमा बाहिर आयो।’
पुष्पलालको परिवारले समेत एमालेमा नैतिक सर्मथन जनाउन किन नचाहेको होला भन्ने आफूलाई पहिले लागे पनि विगत एक महिनादेखि त्यसबारे ज्ञान बोध भएको समेत भण्डारीको भनाइ छ।
भण्डारीले अगाडि लेखेकी छिन्, ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउँदा रहेछन्। र नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो। त्यस कारण यो प्रकरणलाई धन्यवाद।’
Shares

प्रतिक्रिया