राजनीति


भ्रष्टाचार गर्ने कांग्रेसकै नेताको पनि संरक्षण गर्नुपर्छ भन्ने छैन: गगन थापा

'मूल्यमान्यतामा सम्झौता गर्नुपर्‍यो भने तिम्रो प्रधानमन्त्री, तिम्रो सरकार, तिमीलाई मुवारक भनेर हिँड्नुपर्छ'
भ्रष्टाचार गर्ने कांग्रेसकै नेताको पनि संरक्षण गर्नुपर्छ भन्ने छैन: गगन थापा

नेपालखबर
साउन ६, २०८२ मंगलबार १८:४८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेता कार्यकर्ताले उच्च नैतिकताको मानक सावित गर्नुपर्ने बताएका छन्। 

बीपी स्मृतिमा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले शासनको सन्दर्भमा क्षमता बढाउनुपर्ने बताएका हुन्।

उनले भ्रष्टाचार गर्ने नेता पार्टीकै भए पनि संरक्षण गर्न नहुने बताए। सार्वजनिक ओहोदामा रहँदै गर्दा कसैले बद्‌नियत राखेर भ्रष्टाचार गर्ने, ठग्ने काम गर्छ भने उसलाई जोगाउन नहुने थापाको भनाइ छ। 

'सार्वजनिक ओहोदामा रहँदै गर्दा मैले बदनियत गर्दै कुनै काम गरियो, ठगी भयो, भरष्टाचार गरियो भने त्यो बेलामा म प्रतिको तपाईंको धारणा- निरपेक्ष रहनुपर्छ। तपाईंले भन्नुपर्छ- कानुन शासन भएको देशमा कानुनले जे भन्छ त्यही हुन्छ। बीपी कोइरालाले सिकाएका कुरा यही हो।'

गलत भएको मान्छेलाई कुनै पनि समर्थन गर्न नहुने उनको भनाइ थियो। 'कांग्रेस भएकै कारणले अतिरिक्त सुविधा पाउने पनि होइन। चाहे जोसुकै होस्। शक्तिशाली होस्, सत्तामा बसेको मान्छे होस्, गलत गलत नै हुन्छ। सही सही नै हुन्छ' थापाले भने। 

उनले आफू पार्टीभित्र अत्यन्त माया पाएको कार्यकर्ता भएको बताउँदै थपे, 'सामान्य परिवारको मानिस हुँ। तपाईंहरूको माया प्रेमले आज यत्रो ठूलो जिम्मेवारीमा छु। भोलि अरु जिम्मेवारीहरू समयले आउला नआउला सप्पै कुराका लागि तयार छु तयार रहनुपर्छ। यही जिम्मेवारी ठूलो कुरा हो। कांग्रेस पार्टीको दृष्टिकोण दायाँबायाँ हुनुहुन्न।'

उनले सही र गलत भन्ने कुरा सबैले मिलेर बुझाउनुपर्ने पनि बताए। त्यस्तै थापाले ०८४ को चुनावको चिन्ता नगर्न पनि आग्रह गरे। 

'सही के हो गलत केहो तपाईं र म मिलेर बुझाउन सक्नुपर्छ। छोडिदिनुस् चुनावको हिसाब किताब। ०८४ मा जे सुकै होस्। चुनावको चिन्ता पटक्कै नलिनुस्। चुनावको चिन्ता हुनु भनेको लोभी हुनु हो। लोभी भइयो भने धेरै कुरा गर्न सकिँदैन डराइन्छ,' उनले भने, 'यसपछि केको डर? मनमा लागेको कुरा गर्ने हो। सत्यको कुरा गर्ने हो ठीकलाई ठीक, गलतलाई गलत भन्ने हो। त्यो हिम्मत राख्न सक्नुपर्छ। गल्तीलाई स्वीकार गरौँ। आफूलाई सच्यायौँ। घरभित्रको फोहोर सफा गरौँ नागरिकसँग संवाद गरेर भनौँ- हामीसँग संकल्प छ भनौँ।' 

उनले एमालेसँग गठबन्धनमा भएकै कारणले कांग्रेसको मूल्यमान्यतामा सम्झौता गर्न नसक्ने पनि बताए। 

'हामी सरकारमा एमालेसँग छौँ भन्दै गर्दा हाम्रा आधारभूत कुराहरूसँग, न्यूनतम मूल्यमान्यता जे छ त्यसँग सम्झौता गर्नुपर्ने अवस्था आयो भने एक मिनेट पनि नसोची तिम्रो सरकार तिमीलाई मुवारक, हामी आफ्नो बाटो हिँडौं भनेर भन्छु म, त्यो हिम्मत बोकेर बस्नुपर्छ’ थापाले भने। थापाले कांग्रेसका मन्त्रीले खल्तीमा राजीनामा बोकेर बस्नुपर्ने र गलत काम हुने बित्तिकै प्रधानमन्त्रीको टेबुलमा राखिदिने हिम्मत गर्नुपर्ने पनि बताए। 

'अनि कांग्रेसको सभापतिले पनि आधारभूत मूल्यमान्यतामा सम्झौता गर्नुपर्‍यो भने तिम्रो प्रधानमन्त्री, तिम्रो सरकार, तिमीलाई मुवारक हिँड्छु म भन्ने हिम्मत मनमा राखिराख्नुपर्छ,' उनले थपे, 'सिंगो कांग्रेस पार्टीले राख्नुपर्छ अनि त्यो आँटका आधारमा नचाहिने कुनै पनि कुरा हामीले मान्दैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad