राजनीति


विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा पुगेका छौँ: गृहमन्त्री लेखक

विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा पुगेका छौँ: गृहमन्त्री लेखक

नेपालखबर
साउन ६, २०८२ मंगलबार १८:२५, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य खोज, उद्दार र राहत जस्ता कामका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा पुगेको बताएका छन्।  

मंगलबार गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ/नेपाल ड्रोन संघबिच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले ड्रोनको प्रयोगले विपद् प्रतिकार्य खोज, उद्धार र राहत (औषधी र पानीलगायत) ड्रोनमार्फत पुर्‍याउन सकिने बताए।  

उनले विपद्को पूर्वसूचना र प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न जरुरी रहेको बताउँदै पूर्व सूचनालाई चुस्तदुरुस्त गर्ने गरी अगाडि बढेको जानकारी दिए। 

'हामी विपद्को उच्च जोखिम भएको भूगोलमा छौँ। बाढी पहिरो, भूकम्प, चट्याङ र  लूदेखि हिउँ लाग्ने सम्मको जोखिममा छौँ,'मन्त्री लेखकले भने, 'हामी अब निजी क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिहरू पनि विपद् प्रतिकार्यमा जोडिनुपर्छ भनेर समझादारी गरेका छौँ।'

मन्त्री लेखकले विपद् प्रतिकार्यमा सबैले साझा रुपले हातेमालो गरेर विपद्को व्यवस्थापनका लागि सरकार र नीजि क्षेत्र समेत मिलेर अगाडी बढ्ने काम भइरहेको बताए। नागरिकको जीउधनको रक्षा गर्ने विषयसित जोडेर राष्ट्रको महत्वपूर्ण दायित्व पालना गर्नु अघि बढेकोप्रति ड्रोन संघलाई मन्त्री लेखकले धन्यवाद समेत ज्ञापन गरे। 

समझदारी पत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानव रहित विमान (ड्रोन) संघबीच सहकार्य  गर्ने गरीे सम्झौता भएको छ।

जसमा खोज तथा उद्धार, राहत वितरण तथा अन्य सामाग्री ढुवानी, विपद् प्रभावित क्षेत्रको निरीक्षण, भौगोलिक नक्साङ्कन तथा इमेजिङ, क्षति मूल्याङ्कन र सूचना संकलन तथा विश्लेषण कार्य गरिनेछ।

त्यस्तै विपद्को समयमा ड्रोनको प्रयोग गर्न प्राधिकरणले आवश्यकदेखि माग गरेमा ड्रोन संघले निःशुल्क रूपमा ड्रोन र सम्बन्धित उपकरण (पाइलट) उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ। सो कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था प्राधिकरणले गर्नेछ।

प्रचलित कानुन र ड्रोन उडान सम्बन्धी अनुमति लिएका ड्रोन र पाइलट विपद्को समयमा परिचालन गर्न आवश्यक समन्वय र सहजीकरण प्राधिकरणले गर्ने भनिएको छ।

ड्रोन सञ्चालनका सन्दर्भमा आवश्यक मार्गनिर्देशन, समन्वय र सहजीकरणका समन्वय समिति गठन समेत गरिएको छ। जसमा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा प्रमुख संयोजक रहनेछन्।

प्राधिकरणको समन्वयमा तत्काल ड्रोन उडान गर्ने/गराउने गरी गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले परिचालन गर्नेछ। उक्त समझदारी एक बर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने सर्त राखिएको छ।

कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्य, राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्ट, नेपाल ड्रोन संघका अध्यक्ष राजबाबु महर्जनलगायतको सहभागिता रहेको थियो। 

यसअघि मन्त्रालयले हेलिकप्टर एसोसियसनसँग पनि विपद् प्रतिकार्यका लागि निःशुल्क हवाई उद्दारलगायतका विषय समेटेर समझदारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad