नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरसविरुद्धको संघर्षमा मानव जाति र आम नेपालीको सफलताको कामना गरेका छन्।
नयाँ वर्ष २०७७ को अवसरमा सोमबार बिहान शुभकामना सन्देश दिँदै प्रचण्डले देश–विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सु स्वास्थ्य, शान्ति र समृद्धिको कामनासमेत गरेका छन्।
‘नयाँ वर्षले कोरोना (कोभिड–१९) भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु,’ पचण्डद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरस विरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु।’
उनले आम नेपाली दिदीबहिनी, दाजुभाइहरुलाई कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त नेपाल सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्न आह्वान गरेका छन्।
‘यो अवस्थामा उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा विजय प्राप्त गर्न पनि विशेष अपील गर्दछु’ प्रचण्डले भनेका छन्।


प्रतिक्रिया