राजनीति


एकीकृत समाजवादी प्रवेश गर्दै वामदेवले भने- म एसएलसी पनि बल्लतल्ल थर्ड डिभिजनमा पास गरेको मान्छे हुँ

एकीकृत समाजवादी प्रवेश गर्दै वामदेवले भने- म एसएलसी पनि बल्लतल्ल थर्ड डिभिजनमा पास गरेको मान्छे हुँ

नेपालखबर
साउन २, २०८२ शुक्रबार १५:६, काठमाडौँ

नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले आफू आज ज्यादै नै खुसी भएको प्रतिक्रिया दिएका छन्।  शुक्रबार नेकपा एकीकृत समाजवादीसँग राष्ट्रिय एकता अभियानबीच भएको एकता समारोहलाई सम्बोधन गर्दै उनले चार वर्षको प्रयासपछि दुई पार्टी एक भएको बताए। 

'आज म ज्यादै खुसी भएको छ। अलिअलि पनि होइन ज्यादै धेरै। मैले धेरै व्यक्त गर्न सक्दिनँ। नेकपा एकीकृत समाजवादीमा एकीकृत हुन चारवर्ष पहिलेदेखि सुरु गरेँ। मेरो पार्टी कार्यालय र यहाँ धेरै टाढा होइन तर मलाई यहाँ आउन चार वर्ष लाग्यो। मैले भने जसरी एकता भएको छ,' उनले भने, 'म धेरै हन्डर ठक्कर खाएर आएको हुँ। मैले एसएलसी मात्रै पास गरेको मान्छे छु त्यो पनि थर्ड डिभिजनमा बल्लबल्ल। तर आज मैले ब्रमान्डमा विचरण गर्छु। कहिले म कन्टम सिद्धान्तमा विचरण गर्छु। र साँच्चै आनन्दित भएको छु। अन्तिम अवस्थामा प्रवेश गरिरहेको छु। सय वर्ष त म बाँच्न पर्ने हो भन्ने मलाई लाग्छ।'

उनले आफू सय वर्षको उमेर हुँदासम्म कम्युनिस्ट आन्दोलनलाई अघि बढाइरहने पनि बताए। 

'त्यो बढी त बाँच्न आवश्यक पनि छैन। १०० वर्षसम्म मैले देशको कम्युनिस्ट आनदोलन अघि बढाउँछु। मैले मेरो जीवनमा के प्राप्त गर्नपर्छ भन्ने जान्ने भएपछि सकंल्प गरेको छु। १, राजतन्त्रको अन्त्य र २, कम्युनिस्ट आन्दोलन एउटै बनाएर एक पार्टी बनाउने।'

०७५ सालमा दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा बन्दा आफूलाई अब बाँकी केही छैन भन्ने लागे पनि त्यो टुंगोमा पुग्न नसकेकोमा दु:ख व्यक्त गरे।     

उनले अहिलेका नेपालका कम्युनिस्ट पार्टीहरू पुँजीपतिहरूको अगाडि आत्मसमर्पण गरिरहेको टिप्पणी गरे। अहिलेका कम्युनिस्टहरूले समाजवाद उन्मुख भन्ने गरेको भन्दै आपत्ति जनाए। समाजवाद उन्मुख नहुने र समाजवाद निर्माण गर्ने कुरा भएको उल्लेख गरे।  

'समाजवाद उन्मुख होइन। समाजवाद निर्माण गर्ने हो। त्यसपछि कता उन्मुख हुने हो त्यो हुने हो। आज संकल्प गरौँ समाजवाद निर्माण गरौँ। लोकतान्त्रिक समाजवाद निर्माणको चरणमा पुग्नेछौँ। हामी मागेर खाने अवस्थामा होइन दिने अवस्थामा हुनेछौँ भन्ने संकल्प गरौँ। यसका निम्ति लाग्नुपर्छ,' उनले भने, '४ वर्ष पहिले आउन पाएको भए समाजवाद निर्माण हुन्थ्यो। म लागेपछि हुन्छ। म मात्रै पनि होइन तपाईंहरू पनि लाग्ने हो। अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन, एउटा प्रदेश कमिटी, उपत्यका कमिटी, ९ वटा जिल्ला कमिटीको पनि समर्थन बोकेर आएको छु। धेरै कम्रेडलाई सँगै ल्याएको छु।'

गौतमले ०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गर्न केपी शर्मा ओलीलाई बल्लबल्ल मनाएको पनि उनको दाबी छ। 'नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता हुँदा कम्रेड केपी ओली कहिल्यै पनि तयार हुनु भएन। कम्रेड माधव र म तयार भयौँ। अन्तिममा उहाँलाई पनि तयार गर्‍यौँ र पार्टी एकता भयो' उनले भने। 

उनले माधव नेपालसँग ०३६ सालदेखि चिनजान भएको पनि बताए। 

'माधव नेपाल र मेरो चिनजान ०३६ सालमा भएको हो। त्यसबेलादेखि यता कहिले धेरै राम्ररी, एकताबद्ध भएर कहिले सन्तुष्ट-असन्तुष्ट भएर, कहिले बेस्सरी रिसाएर आफूलाई बचाएका छौँ,' उनले भने, 'कम्रेड झलनाथलाई मैले अत्यन्त कठिन अवस्थामा साथ दिएको छु। पार्टी स्थायी कमिटीका बहुमत सदस्यले अध्यक्ष हटाएर अरु कसैलाई बनाउने प्रस्ताव ल्याउनुभयो। झलनाथले सम्झनुहुन्छ कि सम्झनुहुन्न? बल्खुको पार्टी कार्यालयमा अध्यक्षको कुर्सीमा बस्नु भएको थियो। हटाउने भनेर निर्णय लेख्न युवराज ज्ञवाली बस्नु भएको थियो। मैले नलेख्नुस् भनेँ।'

उक्त माइन्युट केपी ओलीले खोसेर आफैँले लेख्न लागेपछि आफूले लेख्न नदिएको पनि दोहोर्‍याए। 'केपी ओलीले माइन्युट खोस्नु भयो र मैले लेख्छु भन्नुभयो।  मैले भनेँ नलेख्नुस्। उहाँले लेख्छु भन्नुभयो मैले पनि उहाँभन्दा ठूलो स्वरमा नल्खेनू भनेँ,' उनले भने, 'लेखे भने के गर्नुहुन्छ भन्नुभयो- मैले तपाईंलाई ढालेर माइन्युट खोस्छु, आगो लगाइदिन्छु र तपाईंले गरेको निर्णय आगोमा समाप्त हुन्छ भनेँ। त्यसपछि झलनाथलाई हात समातेर अर्को ठाउँमा जानुपर्नेछ भनेर निस्किएँ।'

उनले आफू अहिले पनि आवश्यक परे आफ्ना हातहरूलाई हतियारको रुपमा प्रयोग गर्न तयार रहेको बताए। 

'म विचार सही छैन भने शरिरसहित उपस्थित हुन्छु। शरिरसितमात्रै होइन म आँटसहित प्रस्तुत हुन्छु। आवश्यकता पर्‍यो भने यी हातहरू हतियारका रुपमा प्रयोग हुन्छ,' उनले भने, 'अहिले पनि म त्यसरी नै जान्छु।  म आन्दोलनको व्यक्ति हुँ। नेता हुँ। मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म हारेको छैन। तपाईंहरूलाई साथ लिएर अघि बढ्नेछु। हामीले बनाएको योजना पूरा गरेर छोड्नेछौँ।' 

गौतमले आफूलाई पद नचाहिने पनि बताए।  'काम गर्ने जिम्मा दिनुस् पद चाहिएन। मैले रातमा, दिनमा  जित बेला पनि काम गर्न सक्छु' उनले भने।    

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad