राजनीति


मध्यरातका निर्णय: अब एमालेमा पदाधिकारी १५, उमेर हद र सचिवालय खारेज

सचिवालयका निर्णय आज पोलिटब्युरो बैठकले अनुमोदन गर्ने
मध्यरातका निर्णय: अब एमालेमा पदाधिकारी १५, उमेर हद र सचिवालय खारेज

बिहीबार बसेको एमाले सचिवालय बैठक


नेपालखबर
साउन २, २०८२ शुक्रबार ७:५८, काठमाडौँ

नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ मा झार्ने निर्णय भएको छ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाएको छ।

मध्यराति सम्पन्न सचिवालय बैठकले अबदेखि पार्टीमा सचिवालय समिति पनि नरहने निर्णय गरेको छ।

जसअनुसार अब एमालेमा स्थायी कमिटी, पालिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन्।

पार्टी उपाध्यक्ष गुरु बरालले दिएको जानकारीअनुसार लामो छलफलपछि नेताहरू उल्लिखित विषयमा सहमतिमा पुगेका हुन्।

आगामी राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय निकायका रूपमा तीनवटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव गरिने निर्णय भएको बरालले बताए।

१५ पदाधिकारीमा अध्यक्ष र महासचिवबाहेक अरू पद के कसरी निर्धारण गर्ने भन्नेबारेमा भने निर्णय गरिएको छैन।

तर पार्टीका एक पदाधिकारीका अनुसार अध्यक्ष, महासचिव र उपमहासचिव, उपाध्यक्ष पाँच र सचिव सात जना रहने अनौपचारिक सहमति भएको छ।

एमाले उपाध्यक्ष बरालका अनुसार केन्द्रीय कमिटीको आकार घटाउने विषयमा पनि नेताहरूबीच लामो छलफल भएको थियो।

पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या ११ मात्र राख्ने प्रस्ताव गरेका भए पनि नेताहरूले १५ चाहिँ राख्नुपर्ने राय दिएपछि सोहीअनुसार निर्णय भएको हो।

यस्तै पाैडेलले १९९ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरेकामा २५१ सदस्यीय बनाउने सहमति भएको छ। 

केन्द्रीय कमिटीका एकतिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन्। जसअनुसार एमालेको पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ।

हाल एमाले पोलिटब्युरो समितिमा ९९ सदस्य छन्। 

उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने निर्णय सर्वसम्मत भएको छ।

उनका अनुसार विधान संशोधनबारे बैठकको सुरुमा नेताहरूले भिन्न मत राखे पनि पछि सबै निर्णय सर्वसम्मत भएका हुन्।

ज्ञवालीका अनुसार पार्टी केन्द्रीय सदस्यहरूलाई महाधिवशेनमा उम्मेदवार हुने गरी सहभागी हुन आफ्नै भूगोलबाट चुनिएर आउने कि स्वत: आयोजकको हैसियतमा सहभागी गराउने विषयमा लामो छलफल भएको थियो।

छलफलले केन्द्रीय सदस्य स्वत: राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुन पाउने गरी निर्णय गरेको छ।

विधान महाधिवेशनका हकमा यस अघिका प्रतिनिधि मात्र सहभागी हुन पाउने व्यवस्था यथावत् राखिएको छ।

थपिएका नयाँ केन्द्रीय सदस्य आयोजकको हैसियतमा मात्र विधान महाधिवेशनमा सहभागी हुनेछन्।

सचिवालय बैठकले गरेका निर्णय आज दिउँसो १ बजे बस्ने पोलिटब्युरो बैठकबाट अनुमोदन गरिने एमाले नेताहरूले बताएका छन्।

साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालय र पोलिटब्युरो बैठकका निर्णय प्रस्ताव गरिने बताइएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय (च्यासल, ललितपुर) मा बसेको एमाले सचिवालय बैठक ९ घन्टाभन्दा बढी चलेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad