प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा खुसी व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले श्रमबिना प्रगति सम्भव नहुने भन्दै श्रमिकको सम्मान बिना समृद्धि पनि सम्भव नहुने बताएका छन्।
‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेका थियौँ। त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,’ प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले हिजो (साउन १ गते)देखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ। श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ। जय श्रमिक, जय नेपाल।’

सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच हिजो श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० बनाउने सहमति भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा यस्तो सहमति भएको थियो।
श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ। यसअघि श्रमिक न्यूनतम पारिश्रमिक रु १७ हजार ३०० थियो।
साउन १ गतेदेखि लागू हुने गरी भएको सहमतिअनुसार अब श्रमिकको मासिक आधारभूत पारिश्रमिक रु १२ हजार १७० र महङ्गी भत्ता रु सात हजार ३८० हुनेछ। मन्त्रालयका अनुसार श्रमिकले दैनिक आधारभूत पारिश्रमिक रु ४७० र महङ्गी भत्ता रु २८४ प्राप्त गर्नेछन् भने प्रतिघण्टा आधारभूत पारिश्रमिकरु ६३ र महङ्गी भत्ता रु ३८ हुनेछ।
आंशिक समयमा मात्र काम गर्ने कामदारको हकमा प्रतिघण्टा न्यूनतम पारिश्रमिक रु १०७ हुने सहमति भएको छ। उक्त सहमति चिया बगानबाहेकमा श्रमिकको हकमा लागू हुने मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया