राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुन लावतीलाई जिम्मेवारीबाट मुक्त गरेपछि पार्टीभित्र विवाद बढेको छ। पार्टी अध्यक्षले विधानविपरीत गतिविधि गरेको भन्दै सुवेदीसहितका नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन्।
त्यसरी हुल बाँधेर निर्वाचन आयोग पुग्नेमा सुवेदी, पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शमशेर राणा, सगुन लावती लगायतका नेताहरू छन्।
यसले पार्टीभित्रकोे विवाद छताछुल्ल भएको छ। राप्रपाकी महामन्त्री कुन्ती शाही पार्टी विवादको मुख्य जड अध्यक्ष लिङ्देन रहेको बताइन्।
‘राजावादी आन्दोलनको नेतृत्व लिएपछि नवराज सुवेदीले खुलेरै राप्रपाको सदस्यताबाट मुक्त भएको घोषणा गरेको सत्य हो,’ शाहीले नेपालखबर ‘तत्कालै’मा भनिन्, ‘तर, त्यसको केही दिनपछि शीर्ष नेताहरू बसेको बैठकमा अध्यक्ष लिङ्देनले नै उनलाई काममा निरन्तरता दिन आग्रह गरेका थिए। अर्को कुरा, आफूले मनोनीत गरेको भन्दैमा अध्यक्षले हटाउन मिल्ने प्रावधान हाम्रो विधानमा छैन। यो त निरंकुश र स्वेच्छाचारी कदम भयो।’
अध्यक्षले विधानमा भएको व्यवस्थालाई मिचेर आफूलाई ‘हस् हजुर’ भन्नेहरूलाई मात्र पद दिएको र लामो समयदेखि पार्टीमा योगदान दिएकाहरूको अवमूल्यन गरेको उनको दाबी छ।
‘उहाँले गरिरहेका निर्णय प्रक्रियाहरू हेर्दा ‘हजुर, हस् भन्ने व्यक्तिहरूलाई मात्रै अध्यक्षले जिम्मेवारी दिने हो भने, लामो समयसम्म पार्टीमा रगत र पसिना बगाएका साथीहरूको मूल्यांकन हुँदैन भने हामी चुप लागेर बसिरहन हाम्रो नैतिकताले दिन्छ? दिँदैन। यो पार्टी सबैको हो,’ उनले भनिन्।

यद्यपि उनले पार्टीमा राजेन्द्र लिङ्देन र धवल शमशेरको गुट देखिएको कुरालाई अस्वीकार गरिन्। उनले आफू कुनै गुटमा नभएर पार्टीको विधान र न्यायको पक्षमा उभिएको बताइन्।
‘यो हल्ला पार्टी कमजोर बनाउन रचिएको चलखेल हो,’ उनले भनिन्, ‘त्यसैले अहिलेको विवाद समाधानका लागि अध्यक्षले तत्काल पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएर संवाद गर्नुपर्छ। अध्यक्षले गरेको पछिल्लो नियुक्ति विधानसंगत छैन र यसलाई हामी मान्दैनौँ। यसरी गलत संस्कृतिको विकास गर्न हुँदैन। पार्टीभित्र अन्याय परेका जो कोहीको पक्षमा म बोल्छु, चाहे त्यो सामान्य कार्यकर्ता होस् वा भोलि अध्यक्ष नै किन नहोस्।’
राजसंस्था पक्षधरहरू नै विवादमा होमिएपछि यतिखेर सर्वत्र राजावादी आन्दोलन कमजोर भएको टिप्पणी गरिरहेका छन्। तर, कुन्ती पार्टीभित्रको विवादले राजावादी आन्दोलन कमजोर नभएको उनको दाबी छ।
‘राजावादी आन्दोलन अघि बढिरहेको छ, बढ्छ,’ उनले भनिन्।

राजसंस्था फर्किए अब महिला पनि गद्दीमा बस्न सक्ने उनको तर्क छ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था खोजेको हो, राजा पनि खोजेको होइन,’ उनले भनिन्, ‘राजसंस्था राख्ने सहमति गरौँ, स्वरूपका विषयमा, अरूका विषयमा त्यसपछि गरौँला। पहिले राजसंस्था राख्ने भनेर सहमति गरौँ, अनि महिला पनि हुन सक्छे। एउटा कुरा थाहा छ तपाईंलाई? जब यो प्रतिनिधिसभालाई ब्युँताउने काम गरियो राजा ज्ञानेन्द्रबाट, त्यहाँ एउटा बुँदा पनि थियो। त्यो के भने राजाको पहिलो सन्तान राजा हुने। भनेपछि पहिलो सन्तान छोरा हुन्छ भन्ने हुन्छ र? हुँदैन नि।
हामीले प्रतिप्रश्न गर्यौँ– भनेपछि महिला पनि राजा हुन सक्ने भए?
कुन्तीले प्रस्ट जवाफ दिइन्– हुन सक्छ।
बाँकी के के भनिन् कुन्तीले? हेर्नुहोस्, राप्रपा किचलो, राजेन्द्र लिङ्देनको कदम, राजावादी आन्दोलन र राजसंस्थाबारे उनीसँग गरिएको नेपालखबर ‘तत्कालै’:
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया