प्रधानमन्त्री केपी शर्मा ओलीले घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्नुपर्ने भन्दै पार्टीभित्रैबाट दबाब बढेको छ। तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म कुनै कदम चालेका छैनन्।
ओलीले विवादित अडिओबारे बिहानै मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर स्पष्टीकरण सोधिसकेका छन्। यद्यपि, प्रधानमन्त्री र मन्त्रीबीचको कुराकानीको विस्तृत विवरण बाहिर आइसकेको छैन।
प्रधानमन्त्रीसँगको भेटपछि मन्त्री गुप्ता मोबाइल अफ गरेर बसेका छन्।
एमाले वृत्तबाटै पनि उनलाई तत्काल कारबाही गर्न दबाब परेको छ।
एमालेकै सांसद किरणकुमार साहले सोमबार संसदमै मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे।
प्रतिनिधि सभाको बैठकमा उनले यस विषयमा सरकार मौन रहेको भन्दै आपत्तिसमेत जनाए।
‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ?' उनले भने, 'दुनियाँले सुनेको अडिओ सरकारले नसुनेझैँ गर्नु लोकतन्त्रको अपमान हो। म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्यूलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस्।’
एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपालखबरसँग भने, ‘यस विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएर सरकारलाई तत्काल एक्सन लिन भनिसकेको छ। प्रधानमन्त्रीले पनि गम्भीरतापूर्वक लिनुभएको छ। उहाँले नै आवश्यक कारबाही गर्नुहुन्छ। भरेसम्म केही आउला।’
२०८१ असार ३१ गते उनी सामान्य प्रशासन मन्त्री नियुक्त भएका हुन्। उनी पर्सा-३ बाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद हुन्।
के हो घुस डिल प्रकरण?
२०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकमसमेत बुझेको अडिओ केहीदिनअघि मात्र सार्वजनिक भएको थियो।
मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग, कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडिओ बाहिरिएको थियो।
उनले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरीसमेत परेको छ। यसबारे अख्तियारले समेत छानबिन गरिरहेको सूचना पाएपछि मन्त्री राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। तर, आफूले कुनै गल्ती नगरेको मन्त्री गुप्ताको दाबी छ।
‘यसमा मेरो कुनै संलग्नता छैन, मैले कसैको एक रुपैयाँ खाएको पनि छैन। कसैले मलाई दिएको पनि छैन। पैसा राखेको फोटो बाहिर ल्याइएको छ, जुन टेबल हो, त्यस्तो टेबल पनि मेरो मन्त्री क्वार्टरमा छैन,’ उनले दाबी गरे, ‘कसले दियो व्यक्तिको पनि नाम उल्लेख छैन। कोही त व्यक्तिले दिएको होला पैसा। अब यो केही कुन बेला कुन प्रसङ्गमा रेकर्ड गरिएको छ, तर मैले त्यो सुरुवातमा त्यस्तो बोलेकै छैन। त्यो बोल्ने औचित्य र आवश्यकतै छैन। सरुवाको कुरा गरिया छ, तर, न मैले कसैलाई तानेको छु, न कसैलाई पठाएको छु। केही गरेकै छैन।’
Shares

प्रतिक्रिया