काठमाडौँ महानगरकी उपप्रमुख (उपमेयर) सुनिता डंगोलले माफी मागेकी छन्। डंगोलले महानगरभित्र राजनीतिक र आन्तरिक मनमुटावका कारण बजेट ल्याउन ढिलाइ भएको बताउँदै माफी गरेकी हुन्।
आइतबार नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा बजेट प्रस्तुत गर्दै डंगोलले बजेट ढिलो पेस भएकामा महानगरवासी र सरोकारवाला निकायसँग माफी मागिन्।
‘हामीबीच केही अविश्वास, केही तिता–मिठा अनुभव प्रस्तुत भए, आरोप–प्रत्यारोप पनि भए, सबै कुरा मन्थन भयो। समस्याहरू समाधान पनि भए र आज हामी फेरि एकढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौँ,' उनले भनिन्, 'समयमै आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सभामा पेस गर्न नसकेकामा मेरो व्यक्तिगत तर्फबाट र सबै नगरसभा सदस्यहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना व्यक्त गर्दछौँ।’
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन जनप्रतिनिधि र कर्मचारी सबैको महत्त्वपूर्ण भूमिका रहेको बताइन्।
‘हाम्रो सहयात्रा तीन वर्ष पुगिसकेको छ । जनताको अपेक्षा धेरै छन्, अबका दिनमा हामी महानगरवासीलाई आफ्नो सामर्थ्यले भ्याउनेसम्मको काम गर्ने प्रण यसै सभामार्फत गर्न चाहन्छु,' उनले भनिन्, 'जसलाई पूरा गर्न आपसमा सहमति, समन्वय र सहअस्तित्वको भावना सहित सहकार्य गरेमा जनताको इच्छा पूरा गर्न सहज हुन्छ भन्ने मैले विश्वास लिएकी छु।’
Shares

प्रतिक्रिया