राजनीति


आफ्ना गुटका नेता पार्टीबाट निकालिएपछि शेखरले बोलाए बैठक

आफ्ना गुटका नेता पार्टीबाट निकालिएपछि शेखरले बोलाए बैठक

नेपालखबर
असार २५, २०८२ बुधबार १९:२३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफूपक्षीय नेताहरूको बैठक बोलाएका छन्। पार्टी अनुशासन समितिले कारबाही गरेका नेताहरूमा अधिकांश आफ्ना पक्षका परेको भन्दै रुष्ट रहेका शेखरले बिहीबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन्। बैठक उनकै सम्पर्क कार्यालय विशालनगरमा बस्नेछ।

'आफ्नो पक्षका केन्द्रीय सदस्य, मन्त्री, सांसद र नेताहरूलाई शेखर दाइले बोलाउनु भएको छ,' उनीनिकट एक नेताले नेपालखबरसँग भने, 'बैठकमा अनुशासन समितिको कारबाहीको विषयमा कुरा हुने भनिएको छ। बाँकी भोलि नै थाहा हुन्छ।' 

अनुशासन समितिले लुम्बिनीका महामन्त्री, खोटाङका जिल्ला सभापति र कास्कीका निवर्तमान जिल्ला सभापतिसहित १८ नेतालाई १ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने गरी कारबाही गरेको छ।  लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई र कास्कीका निवर्तमान सभापति कृष्ण केसी शेखर समूहका नेता हुन्। यीबाहेक कारबाहीमा परेका अधिकांश नेताहरू
 शेखर समूहकै रहेको उनीहरूको दाबी छ। 

यसअघि हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि शेखरले अनुशासन समितिको भूमिकामाथि प्रश्न उठाएका थिए।  

बैठकमा यस्तो थियो अनुशासन समितिबारे शेखरको धारणा 

१. अनुशासन समितिको बैठकमा पार्टी सभापतिज्यूले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर भन्नुभएछ। के आधारमा त्यो कुरा गरियो ? सभापतिज्यू यसको जवाफ चाहियो।

२. म आज धेरै सोचेर भन्दैछु। अब पार्टीको अनुशासन समितिमा केन्द्रीय समिति भन्दा बाहिरका सिनियर साथीहरूलाई राख्नुपर्छ। अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीको लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठी सम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदोरहेनछ। तपाईँका विरुद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नु हुन्न उहाँहरू। यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन। एउटै प्रकृतिको बिषयमा कसैलाई सचेत गराईएको छ कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ। कारबाहीमा किन विभेद ?

३. पर्सा– १ मा गठबन्धनको नाममा लोसपालाई सिट दिइयो। गठबन्धनको उम्मेदवारको ११ सय १७ मत आयो र चौथो हुनुभयो। कांग्रेसका साथी स्वतन्त्र निर्वाचन लड्नुभयो। उहाँको २० हजार ९ सय १७ मत आयो र उहाँ निकट प्रतिद्वन्दी हुनुभयो। गठबन्धनका नाममा आफ्‌नो बलियो सिट किन अरुलाई दिइयो।

उपचुनावमा बारा–२ मा उपेन्द्र यादवलाई टिकट नदिऔँ, पार्टीकै साथीलाई उम्मेदवार बनाऔँ भन्दा हाम्रो कुरा सुनिएन। मधेस प्रदेशमा उपनिर्वाचन लगत्तै कांग्रेसको नेतृत्वमा सरकार बन्ने तर्क अगाडि सारियो। आज उपेन्द्र यादव कहाँ हुनुहुन्छ र मधेश प्रदेश सरकारमा कांग्रेस कहाँ निर छ ? यसको पनि जवाफ चाहियो।

४. २०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरियो। फेरि २०८० को उपनिर्वाचन मा तनहुँ– १ मा कांग्रेसलाई र चितवन–२ मा एमालेका उम्मेदवारलाई मत माग्दै कांग्रेस सभापति र एमाले अध्यक्षको हस्ताक्षरको बिज्ञप्ती आयो। यो कस्तो राजनीति थियो ?

५. अनुशासन समितिको संयोजकले आफुखुसी व्यक्तिगत रुपमा चिठी पठाउँनुभएको छ, त्यो अधिकार उहाँलाई कसले दियो ? पर्सा–१ मा महामन्त्रीले लेख्नुभएको पत्रलाई पार्टी जिल्ला सभापतिले किन मान्नुभएन ? यसको जवाफ कसले दिने हो, चित्त बुझ्ने जवाफ चाहियो।

६. विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ? सभापतिज्यूलाई स्मरण होला, पहिलोपटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिष्पर्धा गर्दै हुनुहुन्थ्यो। उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रिय सदस्य लड्ने ईच्छा ब्यक्त गर्नुभयो। १० बर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उमेदवार बन्न दिनुभएन।

७. सर्वोच्च अदालतले दोषी किटान गरिसकेको ब्यक्ति आज पनि सर्लाहीको जिल्ला सभापति पदमा बसिरहनुभएको छ, के कारणले उहाँलाई हटाईएको छैन ? यो घट्नाले कांग्रेसलाई कति क्षती पुगेको छ भन्ने कुरा सभापतिज्यू र पदाधिकारीले बुझ्‌नुभएको छ ?

८. निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान र इमान्दार साथीहरूलाई टिकबाट वञ्चित गरियो अहिले अनुशासन कारवाहीको कैँची चलाएर फेरि तिनै साथीहरूको राजनीति समाप्त गर्न खोजिंदैछ। 

पार्टी बलियो बनाउने हो भने एकपटक सबै साथीहरूलाई सचेत गराऔं र रुख चिन्हको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा जो साथी स्वतन्त्र रूपले उम्मेदवार बन्नुभयो। उहाँहरू सबैलाई एकपटकलाई माफी दिउँ भनेर मैले पहिलादेखि भन्दै आएको थिएँ र अहिले पनि भन्छु।

९. २०८० भाद्र २४ गते प्रथम राष्ट्रपति डा. रामवरण यादव परासी जिल्ला प्रतापपुर गाउँपालिका वडा नं. ७ मा स्थापना गरिएको वि.पी.कोइरालाको शालिक अनावरण कार्यक्रममा जानुहँुदा, पार्टीका केन्द्रिय सदस्य साथीहरूले नै कार्यक्रम बहिष्कार गर्नुभयो।
२०८१ मंसिर १७ गते सप्तरीको कञ्चनरुप नगरपालिकामा वि.पी कोइरालाको शालिक अनावरणमा मलाई वोलाइयो। म आफैँ प्रमुख अतिथी भएर गएको कार्यक्रममा मेरै समुहका पुर्व मन्त्री देखि जिल्लाका सिनिएर साथीहरूले मलाई रोक्ने प्रयास गर्नुभयो, कार्यक्रम भन्दा ठिक पहिले उहाँहरूलाई भेटेर विपीको शालिक अनावरणलाई बहिष्कार गर्ने कांग्रेसी हुनै सक्दैन भनेर रिसाएँ। तर पनि उहाँहरूले कार्यक्रम बहिष्कार गर्नुभयो। वि.पी कोइरालाको शालिक अनावरण अवरोध गर्नेहरूलाई अनुशासन लाग्ने कि नलाग्ने ? ति साथीहरू कस्ता कांग्रेसी ? सहि कुरा भन्न अब हामीले मुख लुकाउँन हुँदैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad