खेल


साम्बासहित १० खेलाडीलाई राजधानी क्याम्पसमा छात्रवृत्ति

साम्बासहित १० खेलाडीलाई राजधानी क्याम्पसमा छात्रवृत्ति

नेपालखबर
असार २५, २०८२ बुधबार १९:२७, काठमाडौँ

काठमाडौँको धुम्बाराहीमा रहेको द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान सावित्रा भण्डारीसहित १० फुटबलरलाई सम्मान गरेको छ।

धुम्बाराहिस्थित स्कुलमा आयोजित कार्यक्रममा कप्तान सावित्रा, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल, युवा खेलाडीहरू सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई जनही १० हजार रुपैयाँ र समग्रमा १८ लाख बढीको छात्रवृत्तिसहित सम्मान गरेको हो। 

उनीहरूलाई कार्यक्रमका प्रमुख अथिति दिनेश महर्जन, स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराईले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए।

महिला फुटबलमा लगानी वृद्धि गर्नुपर्ने उल्लेख गर्दै प्रमुख अथिति रहेका काठमाडौँ महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जनले महिला टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेको बताए।

यस्तै, द इन्साइट भिजन स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठले अहिले साम्बासहित १० जनाले पूर्ण छात्रवृत्तिमा बीबीएस अध्ययन गरिरहेको जानकारी दिए।

श्रेष्ठले भने, ‘हाम्रा खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै देशको प्रतिष्ठा बढाएका छन्। हामीले संभावना देखेरै उनीहरूलाई औपचारिक शिक्षामा पनि सहज तवरले अगाडि बढ्न सकोस् भनेर चार वर्षयता महिला फुटबलमा धेरैलाई छात्रवृत्ति दिएका छौँ।’

‘शिक्षा हामी सबैका लागि महत्वपूर्ण हुन्छ,’ सम्मानपछि कप्तान सावित्राले भनिन्, ‘सबैले आ–आफ्ना क्षेत्रमा मिहिनेत गर्नुपर्छ। फुटबलसँगै औपचारिक शिक्षालाई अगाडि बढाउने अवसर दिएर इन्साइट भिजनले हामीलाई यहाँ उभिने अवसर दिएको छ। यसको लागि इन्साइट भिजन तथा राजधानी क्याम्पसलाई धेरै–धेरै धन्यवाद।’ 

एउटै व्यवस्थापनमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसमा पुरुषको राष्ट्रिय टिम तथा उमेर समूहका १४ जना फुटबलर पनि छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता नेपाली सावित्रासहित पूजा, अनिता, रेखा र सविताले एसियन कप छनोट खेलेका थिए।

तास्कन्दमा भएको छनोटमा नेपाल घरेलु टिम उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा पराजित हुँदै अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउन असफल भएको थियो। तर, टिमको प्रदर्शन उत्कृष्ट रह्यो। 

नेपालले सुरुका दुई खेलमा लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको थियो। उज्वेकिस्तानविरुद्ध ३–३ को बराबरी भएपछि छनोटको लागि निर्णायक खेल टाइब्रेकरमा पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad