राजनीति


भोटेकोसी बाढीको क्षतिबारे गृहमन्त्रीले गराए सदनलाई जानकारी

भोटेकोसी बाढीको क्षतिबारे गृहमन्त्रीले गराए सदनलाई जानकारी

नेपालखबर
असार २५, २०८२ बुधबार १४:५६, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले भोटेकोसीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाइँकुण्ड गाँउपालिका–२ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन्।  

मंगलबार प्रतिनिधीसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्‌मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनिया नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिए। 

मन्त्री लेखकले बेपत्ताहरूको खोजीकार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए। 

'हालसम्म धादिङ्गस्थित त्रिशुली नदीको किनारमा हालसम्म नाम, थर, वतन नखुलेको २ वटा पुरुषको शव फेला परेको छ। रसुवा, धादिङ्ग र नुवाकोटमा गरी ३ वटा शरीरको अंग फेला परेको छ। नुवाकोट बिदुर नगरपालिका–३, शिरखाली नयाँ पुल स्थित त्रिशुली नदीको किनारामा दाँया खुट्टा नभएको अवस्थामा पुरुषको शव फेला परेको छ,' उनले भने, 'धादिङ्गको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी स्थित त्रिशुली नदी किनारमा अन्दाजी ४०-४५ वर्षका पुरुषको शव फेला परेको छ। भरतपुर नगरपालिका– २९ पन्ध्रकिलोस्थित त्रिशुली नदीको किनारमा ईलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरिक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको छ।'

मन्त्री लेखकले हालसम्म हवाईबाट ३० जना नागरिकको सफलतापूर्वक उद्धार गरिएको जानकारी दिए। 

'नुवाकोट बिदुर नगरपालिकाको इन्द्रेणीघाटमा  किस्पाङ– ४ घर भई हाल बिदुर–९ बस्ने पाल्तेन तामाङ र निजकी श्रीमती मंगली तामाङ एकाबिहानै दाउरा खोज्ने क्रममा खोलाको किनारमा पुग्दा एक्कासी ठूलो बाढी आई खोलाको बीचमा फसेको अवस्था थियो,' उनले भने, 'हाम्रा सुरक्षाकर्मीले ठूलो बहादुरीपूर्वक दम्पत्तीलाई हवाई उद्धारमार्फत् सुरक्षित स्थानमा पुर्‍याउन सफल भएका छन्।'

संकटमा फसेका दुई जनाको जीवन उद्दार मात्र हैन विपद्मा परेका नागरिकलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको संचार गराएको उनको भनाइ थियो। 

त्यसैगरी, स्थलगत उद्दारमार्फत् रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई सुरक्षाकर्मीको सयुंक्त टोलीले उद्धार गरेको छ। सोही घटनामा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका चिनीया पुरुष– १ जना, नेपाली पुरुष–१५ जना र नेपाली महिला २ जना गरी जम्मा १८ जनालाई सकुशल उद्धार गरिएको थियो।

नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको, सडक खण्डमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ।

'मानिस र सवारी साधन आवत जावत बन्द भएको अवस्था छ। सवारी साधनतर्फ सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि राखिएका २३ वटा मालबाहक कन्टेनर ट्रक, ३५ वटा विद्युत्तीय गाडी र ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको छ,' उनले भने, 'रसुवागढी हाइड्रोपावरको ड्याम, त्रिशुली ३ बगाइलगेको र अन्य थप क्षतिको विवरण संकलन भइरहेको छ।'

अकल्पनीय विपद्को सूचना प्राप्त भएपश्चात आफूले सुरक्षाकर्मीलाई परिचालित हुन निर्देशित गर्दै राजधानीबाट आवश्यक समन्वय, सहजीकरण र सहायतामा निरन्तर क्रियाशिल रहेको उनको भनाइ छ।

'मन्त्रालयअन्तर्गतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय प्रशासनलाई सक्रियतापूर्वक क्रियाशिल गराएको थिए,' उनले भने, 'घटनापश्चात तत्काल विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, केन्द्रीय कमाण्ड पोस्ट र मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कक्षलाई पूर्ण क्रियाशिल रहेको थियो।'

मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएका बताए। 

'उक्त स्थलगत अवलोकनपश्चात सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसी विभिन्न राहत, उद्दार तथा प्रतिकार्य सम्बन्धी महत्वपूर्ण निर्णयहरू भएका थिए' उनले भने। 

परिषद्को बैठकले उक्त घटनामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन गृह मन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।

भोटेकोसी नदीमा आएको आकस्मिक बाढीले नेपाल र चीन जोड्ने नाका रसुवागढीस्थित मितेरी पुल बगाएकाले आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हुँदा उक्त पुलको पुनर्निर्माण गरी नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत मित्रराष्ट्र चीन सरकारलाई अनुरोध निर्णय भएको उनको भनाइ छ।  
 
त्यसैगरी परिषद्को बैठकले मित्रराष्ट्र चीनसँग समन्वय गरी भोटेकोसी नदीमा आएको आकस्मिक बाढीका कारण पहिचान गर्ने र मनसुनको समय रहेकोले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइ पूर्वतयारी तथा प्रतिकार्यका लागि तयार रहन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको मन्त्री लेखकले जानकारी दिए। 

'भोटेकोसी नदीमा आएको आकस्मिक बाढीका कारण भन्सार पूर्वाधार, जलविद्युत् आयोजना,  निजी आवासहरू र  अन्य पूर्वाधारहरूमा भएको क्षतिको विस्तृत क्षति आंकलन गर्ने कार्य यथाशिघ्र प्रारम्भ गरी सम्बन्धित निकायले यथासमयमा सम्पन्न गर्ने र अर्को परिषद् बैठकमा पेश गर्ने निर्णय समेत भएको छ,' उनले थपे, 'उक्त नाका संचालन नहुँदासम्मका लागि बैकल्पिक सडक संचालनका लागि आवश्यक गृहकार्य अगाडि बढाइएको छ।'

गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला निकायबाट विपद् सम्बन्धी समय–समयमा सूचना एवं जानकारीहरू आम नागरिकका लागि जारी गर्ने गरिएको मन्त्री लेखकको भनाइ छ।

'त्यस्ता सूचना एवं जानकारीको पूर्ण परिपालना गरी सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सहयोग गर्न सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीसमक्ष अपिल गर्न चाहन्छु,' उनले भने, 'विपद्को यस घडीमा जीउ धनको जोखिम न्यूनीकरण गर्ने सरकारको अभियानमा हातेमालो गर्न सबै राजनीतिक दल, संघसंस्था एवं सबै सरोकारवालामा अनुरोध गर्न चाहन्छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad