राजनीति


इरान युद्धले जुराउँदैछ नेपालमा ‘कम्युनिस्ट एकता’

अमेरिकी–इजरायली हमलाविरुद्ध एमालेबाहेक सबै वाम दल एकै ठाउँ
इरान युद्धले जुराउँदैछ नेपालमा ‘कम्युनिस्ट एकता’

फोटो : इरानमाथिको आक्रमणको विरुद्धमा २१ असारमा भएको बैठकमा प्रचण्ड, माधव नेपाल लगायतका नेता


सीताराम बराल
असार २४, २०८२ मंगलबार २०:२८, काठमाडौँ

राष्ट्रिय राजनीतिक विषयमा मतान्तरका कारण विभिन्न चिरामा विभाजित नेपालका कम्युनिस्ट–वामपन्थी पार्टी र संगठनहरूलाई एउटा अन्तर्राष्ट्रिय मुद्दाले एकै मोर्चामा ल्याइदिएको छ। इजरायलले प्यालेस्टाइन–गाजा क्षेत्रमा गरेको नरसंहार र इरानमाथि इजरायली–अमेरिकी आक्रमणका कारण एक दर्जनभन्दा नेपाली कम्युनिस्ट–वामपन्थी पार्टी र संगठन एउटै मञ्चमा उभिएका हुन्।

इजरायलमाथि हमासको ७ अक्टोबर २०२३ (२० असोज २०८०) को आक्रमण गरी कब्जा गरेका बन्दीलाई छुटाउन भन्दै गाजामा हमला गरेको दुई वर्ष पुग्न लाग्दा इजरायलले ५७ हजारभन्दा बढीको ज्यान लिइसकेको छ। अन्तर्राष्ट्रिय संघसंस्थाहरूले भोकलाई हतियार बनाएर इजरायलले प्यालेस्टिनीहरूको ‘नरसंहार’ मच्चाइरहेको आरोप समेत लगाउन थालेका छन्। 

गाजामा अमानवीय आक्रमणका अलावा इजरायलले १३ जुन (३० जेठ) मा इरानमाथि आक्रमण गरेपछि इजरायल–इरानबीच १२ दिन (१२–२३ जुन, ३० जेठ–९ असार) लामो युद्ध समेत भयो। इरानले पारमाणविक बम निर्माण गरेको आरोपका साथ इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेको थियो। तर गहिरोगरी जमिनमुनि निर्माण गरिएका आणविक सम्बर्धन केन्द्रलाई ध्वस्त पार्ने प्रविधि इजरायलसँग नभएपछि अमेरिकाले २१ जुन (७ असार) मा फोर्दाे, नतान्ज र इस्फहानस्थित परमाणु केन्द्रहरूमा ‘बङ्कर बस्टर’ बम प्रहार गरेको थियो। 

इरानमाथि इजरायली हमला र त्यसमा अमेरिका समेत संलग्न भएपछि नेपालका सबैजसो कम्युनिस्टहरू अमेरिकी–इजरायली आक्रमण विरुद्ध इरान र प्यालेस्टाइनको पक्षमा एकजुट हुन थालेका हुन्। त्यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा (विप्लव समूह), नेपाल समाजवादी पार्टी (महेन्द्र यादव समूह) ‘समाजवादी मोर्चा’ का नाममा एकजुट थिए।  

एमालेबाहेकका वामपन्थी र समाजवादी एकै ठाउँ
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र इजरायलको तर्फबाट प्यालेस्टाइनको गाजामा भइरहेको  ‘नरसंहार’ विरुद्ध संसदको प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, अर्काे प्रतिपक्षी दल एकीकृत समाजवादी लगायत नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेकपा’, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी–माओवादीले शनिबार (२७ असार) काठमाडौँमा प्रदर्शन गर्दैछन्।  

गाजामा भइरहेको इजरायली आक्रमण र प्यालेस्टिनीहरूलाई विस्थापित गरेर इजरायली–यहुदीहरूको बस्ती विस्तार विरुद्ध ११ असारमा एक दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी र समूहहरूको अगुवाइमा अन्तर्क्रिया कार्यक्रम राखिएको थियो। शनिबार (२७ असार) को कार्यक्रममा भने थप कम्युनिस्ट–वामपन्थी पार्टी र संघ–संगठनहरू सहभागी हुने नेकपा (मसाल) का नेता भैरव रेग्मीले बताए।

रेग्मीका अनुसार शनिबार हुने प्रदर्शनमा थप कम्युनिस्ट–वामपन्थी पार्टीहरूका अतिरिक्त ‘समाजवादी’ दलहरू पनि सहभागी हुनेछन्। तिनमा सत्तारुढ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महेन्द्र यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन्। 

यसैगरी धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी स्कुल, ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा लगायतको समेत कार्यक्रममा सहभागिता रहनेछ।  

इरान र गाजामाथि भएको अमेरिकी–इजरायली आक्रमणको विरुद्धमा नेपालका कम्युनिस्ट र वामपन्थी दलहरूलाई एकजुट बनाउने पहल मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) र वैद्य नेतृत्वको ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी’ ले गरेको थियो। यी दुवै दल अन्तर्राष्ट्रिय कम्युनिस्टहरूको संगठन इन्टरनेसनल कोअर्डिनेसन अफ रेभुल्युसनरी पार्टीज् एन्ड अर्गनाइजेसन (आईसीओआर) को सदस्य छन्। 

तर, अहिले अमेरिकी–इजरायली आक्रमणको विरोधमा हुन लागेको कार्यक्रमसँग ‘आईसीओआर’ को कुनै सम्बन्ध नरहेको नेता रेग्मी बताउँछन्। 

‘नेपालका सबैजसो कम्युनिस्ट पार्टीले अमेरिकी साम्राज्यवादको विरोध गर्छन्, उनीहरू अमेरिका र इजरायलले इरान र गाजामाथि गरेको आक्रमणको विरोधमा पनि छन्,’ नेता रेग्मीले भने, ‘त्यसो भए संयुक्त रूपमा किन विरोध प्रदर्शनमार्फत् साम्राज्यवाद र यी आक्रमणको विरोध नगर्ने भनेर हामीले पहल गरेका हौँ। अहिले सबैजसो वामपन्थी र समाजवादी दलहरू यस विषयमा ठाउँमा आइपुगेका छौँ।’   

नेपालका सबैजसो वामपन्थी र समाजवादी नामधारी दल एकै ठाउँमा भए पनि सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमाले भने यो मोर्चामा सहभागी छैन। आफै सरकारको नेतृत्वमा भए पनि अमेरिका–इजरायलले सार्वभौम मुलुक इरानमाथि गरेको आक्रमणको औपचारिक विरोध नगरेकाले यो मोर्चामा एमालेलाई सामेल नगरिएको हो।

युद्धको विरोधमा सहमति, एमसीसीमा असहमति
आफै सरकारमा रहेकाले अमेरिकी–इजरायली आक्रमणको विरोध गर्न अप्ठेरो भए पनि इरानमाथिको आक्रमण र गाजामा भइरहेको प्यालेस्टिनीहरूको नरसंहारविरुद्धको अभियानलाई फराकिलो बनाउन कांग्रेस–एमालेसँग पनि छलफल चलाउने योजनामा आफूहरू रहेको नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेल बताउँछन्। 

स्थायी समिति सदस्य पोखरेल पाँच कम्युनिस्ट दलहरूको २१ असारको बैठकले गठन गरेको संयन्त्रको सदस्य छन्। सो संयन्त्रमा माओवादी केन्द्रबाट पोखरेलका अलावा महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट बलराम बाँस्कोटा, विप्लव नेतृत्वको नेकपाबाट खड्गबहादुर विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट परी थापा लगायत नेताहरू सदस्य छन्। 

विप्लव नेतृत्वको ‘नेकपा’ का नेता चिरन पुनका भनाइमा इरानमाथिको अमेरिकी–इजरायली आक्रमणको विरोध र त्यसलाई साम्राज्यवादी आक्रमण मान्ने, गाजामा भइरहेको नरसंहारको विरोध गर्ने विषयमा सहमति भए पनि अमेरिकी विकास परियोजना ‘एमसीसी’ लाई यसै सन्दर्भसँग जोडेर हेर्ने विषयमा भने मतभेद कायमै छ। 

‘अमेरिकाले आफ्नो साम्राज्यवादी स्वार्थका लागि एमसीसी ल्याएको हो, त्यसको पनि सँगसँगै विरोध गर्नुपर्छ भन्ने प्रस्ताव हामीले पछिल्लो बैठकमा गरेका थियौँ,’ पुनले भने, ‘तर, एमसीसीको पक्षमा मतदान गरेको, संसदमा रहेको र भोलि सरकारमा जानुपर्ने भएकाले पनि होला, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू अहिलेको प्रदर्शनमा एमसीसी सम्बन्धी प्रसङ्ग जोड्न चाहनु भएन।’

विरोध प्रदर्शनलाई कसरी प्रभावकारी रूपमा लैजाने भन्ने सम्बन्धमा छलफलका लागि पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा शनिबार (२१ असार) मा बैठक बसेको थियो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समेत उपस्थित थिए। स्रोतका भनाइमा सो बैठकमा अमेरिकालाई साम्राज्यवाद भन्ने विषयमा प्रचण्ड र नेपाल दुवैले असहमति जनाएनन्।   

शनिबार (२७ असार) मा हुने कार्यक्रममा सहभागी सबै शीर्ष नेताहरू सहभागी हुने र सम्बोधन गर्ने सैद्धान्तिक सहमति उपरोक्त दलहरूबीच जुटेको छ। तर, इरान–प्यालेस्टाइनमाथि भइरहेको अमेरिका–इजरायल आक्रमणविरुद्धको प्रदर्शनमा अध्यक्ष प्रचण्ड र नेपाल सहभागी नहोलान् कि भन्ने संशय अन्य दलमा छ। ‘भोलि सरकारमा जानुपर्ने दल’ले अहिले अमेरिका र इजरायलको विरोध गर्दा अप्ठेरो पर्नसक्ने भएकाले अध्यक्ष प्रचण्ड र नेपाल सो कार्यक्रममा सहभागी हुँदैनन् कि भन्ने शंका अन्य दलहरूमा रहेको हो। 

माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेल भने साम्राज्यवादको नेतृत्व अमेरिकाले गरेको भन्ने आफ्नो पार्टीको ठहर रहेको बताउँछन्। 

‘हाम्रो पार्टीले प्रस्ट रूपमा नै ‘अमेरिकी साम्राज्यवाद’ भन्ने शब्दावलीको प्रयोग गर्दै आएको छ, त्यसैले हामी इरानमाथिको आक्रमण र प्यालेस्टाइनमा भइरहेको नरसंहारको विरुद्ध प्रदर्शनमा सहभागी भएका हौँ,’ माओवादी केन्द्रका स्थायी समिति सदस्य पोखरेल भन्छन्, ‘इरान सार्वभौम मुलुक हो, त्यस्तो मुलुकमाथि अमेरिका र इजरायलले आक्रमण गरेका छन्, त्यसविरुद्ध बोल्न हाम्रो पार्टीलाई कुनै समस्या छैन।’ 

नेपाल र इरान दुवै संयुक्त राष्ट्रसंघको सदस्य भए पनि इरानमाथि भएको अमेरिकी–इजरायली आक्रमणबारे नेपाल बोलेको छैन। शनिबारको प्रदर्शनपछि उपरोक्त दलहरूले सो आक्रमणबारे बोल्न नेपाल सरकारलाई घच्घच्याउने गरी ज्ञापनपत्र दिने तयारीसमेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad