बर्खायामलाई पोखराको पर्यटनको अफ सिजन (सुख्खा मौसम) मानिन्छ। यो बेला तेस्रो मुलुकका पर्यटकहरु यहाँ आउँदैनन्। पछिल्लो समय यो ‘अफ सिजन’लाई भरथेग गर्ने काम भारतीय पर्यटकहरुले गरिरहेका छन्।
गर्मी छल्न नेपाल आउने पर्यटकले नै यो बेला पोखराको पर्यटन धानिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापा बताउँछन्।
उनका अनुसार यही अफ सिजनमा भारतको पटनाबाट एउटा कार र्याली पोखरा आएको छ। ‘इन्डो–नेपाल मनसुन कार र्याली २०२५’ कार र्यालीमा १५ वटा एसयुभी सवारीमा ३५ जना भारतीय पोखरा आएको थापाले बताए। संस्कृति र पर्यटन आदान–प्रदान गर्ने उद्देश्यले सो टोली पोखरा आएको हो।
भारतीय पर्यटकहरूले पोखरामा रहँदा बञ्जी, जीपलाइन, स्वीङलगायतका गतिविधिको मनोरञ्जन लिएका थिए। पोखरामा आयोजित कार्यक्रमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, बुमरेङ रेष्टुरेन्ट, प्याडल नेपाललगायत संघसंस्थाले सहयोग गरेका थिए।
पटनाबाट वीरगंज हुँदै पोखरा र यस आसपासका क्षेत्रमा गरिएको कार र्यालीको यात्रा रोमाञ्चक भएको मगध मोटर स्पोट्स क्लब पटना बिहारका अध्यक्ष प्रनभ शाहीले बताए। नेपालको पर्यटन प्रवद्धनमा कार र्याली जस्ता कार्यक्रम महत्वपूर्ण हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेको भनाइ छ।
भारतीय पर्यटकको कार र्यालीजस्ता गतिविधिले पोखराको पर्यटनमा विशिष्ट महत्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए। पोखरा सबै मौसमका लागि भन्ने नारालाई यस्ता कार्यक्रमले थप मद्दत पुर्याउने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईको धारणा छ।
Shares

प्रतिक्रिया