नेपाल बार एसोसिएनले न्यायाधीश नियुक्तिमा आफूहरूको पनि सम्मानजनक प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ।
मंगलबार विज्ञप्ति निकाल्दै बारले न्यायाधीश नियुक्तिमा बारलाई कमजोर नबनाउन समेत न्याय परिषद्लाई आग्रह गरेको छ।
‘सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको नियुक्ति सिफारिस गर्दा कानुन व्यवसायीहरूको सम्मानजनक प्रतिनिधित्व हुने गरी नियुक्ति सिफारिस गर्न न्याय परिषद्समक्ष आग्रह गर्दछौँ,’ महासचिव केदारप्रसाद कोइरालाको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीश नियुक्तिमा बारलाई कमजोर पार्ने रणनीति अख्तियार नगर्न न्याय परिषद्समक्ष अनुरोध गर्दछौँ।’
सर्वोच्च अदालतमा ३ न्यायाधीश सिफारिस गर्दा एक पद खाली राख्नुको औचित्य स्थापित हुन नसकेको र सिफारिस समावेशीसमेत नभएको बारको टिप्पणी छ।
‘हालै भएको सर्वोच्च अदालतको तीन न्यायाधीश नियुक्ति सिफारिसमा एक न्यायाधीश पद खाली नै राखी रिक्त सबै पदपूर्तिका लागि सिफारिस नगर्नुको औचित्य स्थापित हुन नसकेको, पद रिक्त हुनु एक महिनाअघि नै पदपूर्तिका लागि सिफारिस गर्नुपर्ने बाध्यात्मक कानुनी प्रावधानलाई न्याय परिषद्ले ऐच्छिक प्रावधानको रूपमा रूपान्तरण गरेको र न्यायाधीश नियुक्तिमा समानुपातिक, समावेशी सिद्धान्त अपनाउनुपर्ने संविधानको व्यवस्थालाई न्याय परिषद्ले ध्यान नदिएको र आइन्दा यस्तो कार्य नदोहोर्याउन न्याय परिषद्को गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ।
त्यस्तै बारका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा छिटो टुंग्याउन पनि आग्रह गरेको छ।
Shares

प्रतिक्रिया