राजनीति


कांग्रेस बैठकमा प्रकाशशरण: जनाधार जोगाउन नेतृत्व गम्भीर हुनुपर्छ

कांग्रेस बैठकमा प्रकाशशरण: जनाधार जोगाउन नेतृत्व गम्भीर हुनुपर्छ

नेपालखबर
असार २२, २०८२ आइतबार १५:२९, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएको प्रति गम्भीर ध्यान दिन जोड दिएका छन्। पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताएका हुन्। 

'हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै छन्। नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन्। यस्तो अवस्थामा हाम्रो परम्परागत जनाधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ,' उनले भने।

उनले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रुपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताए।'हामी हिन्दू, बौद्ध, किराँत, प्राकृतिक पुजक धर्म संस्कृति मान्ने जनताको प्रतिनिधित्व गर्छौं। यही नै पार्टीको राइट टु द सेन्टर हो। कम्युनिस्टहरू धर्मलाई अस्वीकार गर्छन्। तर हामी आस्थावान् छौं। यही हाम्रो पार्टीको आधार हो, हरेक धर्म मान्नेकाे अधिकार सुनिश्चत गर्दै यसको संरक्षण गर्न जरुरी छ,' महतको भनाइ थियो।

उनले भने, 'धार्मिक स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक समाजको आधारभूत अधिकार हो। धार्मिक स्वतन्त्रता हुनुपर्छ, सबै धर्ममा आस्था राख्नेलाई संरक्षण गर्नुपर्छ, पार्टीले आफ्नो यो वैचारिक धरातललाई इन्ट्याक्ट राख्नुपर्छ।'

महतले हाल पार्टीभित्र सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा नेताहरूबीच एकअर्कामाथि आक्रमण भइरहेको, कार्यकर्ताभित्र आत्मबल खस्कँदै गएको र आन्तरिक विवादले जनताको विश्वास घटेकोप्रति पनि चिन्ता व्यक्त गरे।

महतले सक्रिय सदस्यता अभियानको कमजोर व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै भने, 'सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्य मात्र बढाइएको छ। यो प्रवृत्तिले साँचो कार्यकर्ता छुटेका छन्।'

डा. महतले पार्टीले महिला संगठनलाई गाउँस्तरमा सशक्त बनाएर नेतृत्व विकासको अभ्यास गर्न सुझाव दिए। “विदेश गएका युवाहरूको अनुपस्थितिमा गाउँघरमा महिला नै प्रमुख शक्ति हुन्। महिला संगठनमार्फत कांग्रेसको वास्तविक जनाधार निर्माण गर्न सकिन्छ,” उनले भने।

गठबन्धन सरकारमा कांग्रेसको सहभागिता सन्दर्भमा उनले भने, 'गठबन्धन सरकार हो, बस्दा पनि गारो, नबस्दा पनि गारो। तर सरकारमा बसेपछि त्यहाँ बसिराख्ने न्युनतम आधार तयार गर्न जरुरी छ।' उनले सरकारमा रहेका कांग्रेस मन्त्रीहरूको प्रदर्शन अरु दलका मन्त्रीभन्दा उत्कृष्ट देखिनु पर्ने र त्यसले जनतामा सन्देश दिनुपर्ने बताए।

उनले प्रदेश सरकारहरूमा नेतृत्वको कमजोरी रहेको उल्लेख गर्दै प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठाए। 'प्रदेशमा सिनियर नेताको अभाव छ। अराजकता बढेको छ। यदि यसरी नै गयो भने प्रदेश संरचना प्रति नै जनविश्वास हराउने खतरा छ,' उनले भने।

विदेशस्थित जनसम्पर्क समितिहरू कमजोर बनेको, अधिवेशन समयमा नहुने, नाउँमात्रको समितिहरू रहेकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे। 'नयाँ पार्टीहरूले विदेशमा सक्रियता बढाएका छन्। हामीले त्यसलाई रोक्न सकेनौं भने प्रवासी नेपालीहरूको समर्थन गुम्नेछ,' उनले भने।

विदेशमा रहेका नेपालीहरूलाई पार्टीमा जोड्न र भएकाहरूलाई इन्ट्याक्ट राख्न विश्वव्यापीरुपमै सम्पर्क समिति बनाउन जोड दिदै उनले भने – 'त्यसको लागि पार्टीले ग्लोबल र क्षेत्रिय संयन्त्र बनाउन जरुरी छ।'

उनले पार्टीको सांगठनिक संरचना, कार्यशैली र आर्थिक अनुशासनमा व्यापक सुधार आवश्यक रहेको बताए। 'सरकारको लगानी प्रभावकारी छैन, रोजगारी सिर्जना भइरहेको छैन। प्रदेश र केन्द्र दुवैतिर कुशासनको असर छ,' महतले जोड दिए। उनले भने – 'नेपाली कांग्रेसले नै हो मुलुकको आर्थिक रुपान्तरण गर्ने, युवाहरूलाई रोजगार बनाउने, यो कुरालाई ध्यानमा राखेर अघि बढ्न जरुरी छ।' उनले पार्टी नेतृत्वलाई जनमत जोगाउन, संरचना सुधार गर्न, संगठनात्मक एकता कायम गर्न र जनताको असन्तुष्टिलाई सम्बोधन गर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad