नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी बैठकमा १० बुँदे प्रस्ताव पेस गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आचार्यले पार्टी महाधिवेशन कहिले गर्ने भन्नेदेखि भ्रातृ संस्था सुधारसम्मका योजना पेस गरेका हुन्। उनले पेस गरेको १० बुँदामध्ये एउटा सत्ता गठबन्धनको समीक्षाबारे छ भने अन्य सबै कांग्रेस सुधारबारे छ।
उनको प्रस्तावको पहिलो नम्बरमै पार्टीको १५औं महाधिवेशन ०८२ चैत मसान्तभित्र गर्नुपर्ने उल्लेख छ। त्यस्तै उनले पार्टीको विधान संशोधन आवश्यक भएकोले विधान संशोधन सुझाव मस्यौदा समिति गठन गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराए।
पार्टीको भ्रातृ संस्थाको अधिवेशन तोकिएकै मितिमा हुने सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। 'भ्रातृ संस्थाहरूको हरेक २ वर्षमा तोकिएको महिना र दिनमा अधिवेशन सुनिश्चित गरौँ,' उनले भने, 'उपयुक्त सफ्टवेयर प्रयोग गरी प्रत्येक सदस्य मतदाता रहनेगरी प्रत्यक्ष निर्वाचनबाट नेतृत्व निर्वाचित गरौँ।'
त्यस्तै पार्टीको सबै तहको कार्यकाल ४ वर्षबाट घटाएर ३ वर्ष कायम गर्नुपर्ने उनको प्रस्ताव छ। 'पार्टीको सबै तहको कार्यकाल विद्यमान ४ वर्षबाट घटाएर ३ वर्ष कायम गरौँ,' उनले भने।
त्यस्तै उनले सरकारभित्र र पार्टीभित्र सुशासन अभियान चलाउनुपर्ने पनि बताए। 'नेपाली कांग्रेस सुशासन र सुसंस्कार निर्देशिका' जारी गर्न ढिला गर्न नहुने उनको भनाइ छ।
यस्ता छन् उनका १० बुँदे भनाइ
१. नेपाली कांग्रेसको १५ औं महाधिवेशन यसैसाल (वि. सं २०८२ साल) को चैत्र मसान्तसम्म गर्न सकिन्छ, गरौँ। कार्तिक मसान्तसम्म क्रियाशील सदस्यताको काम सकौं र मंसीर भित्र वडा र पालिका स्तरको अधिवेशन गरौँ। पुष, माघ र फागुन भित्र बाँकी तहको अधिवेशन सम्पन्न गरी चैत्रमा केन्द्रीय महाधिवेशन भब्यताकासाथ आयोजन गरौँ।
३. वर्तमान गठवन्धनको कार्यसम्पादन माथि मध्यावधि समिक्षा गरौँ। सरकारलाई थप प्रभावकारी बनाउन एजेण्डागत तथा रणनीतिगत सुधार गरौँ। सरकारले शिक्षक, किसान, विद्यार्थी, चिकित्सक, सहकारी पिडित, मिटरब्याजी पिडित, भूमिहीन, सुकुम्वासी लगायत जो जोसँग जे जस्तो सहमति वा संझौता गरेको छ, ईमानदारितापूर्वक सो को कार्यान्वयन गरौँ। बाढी पहिरो पिडितले पूरै एकवर्ष कुर्दापनि सरकार भेट्टाएका छैनन। अहिले पनि स्थिति भयावह छ, विपदसँग जुध्ने सरकारी तयारी ज्यादै निमसरो देखिएको छ, संकटापन्न नागरिक माथि जिम्मेवार अभिभावकको भूमिका निर्वाह गरौँ। दुग्ध किसानले आफूले सरकारलाई दिएको दूधको समयमै पैसा पाएका छैनन, खेती सिजनमा मल-बीऊ पाएका छैनन, यसको अविलम्व बैकल्पिक स्थायी समाधान खोजौं। वर्तमान सरकार निर्माणको क्रममा सहमति गरिएअनुरुप संविधान संशोधन माथि पार्टी भित्र आन्तरिक वहस चलाउन र ठोस प्रस्ताव तयार गर्न “नेपाली कांग्रेस संविधान संशोधन उच्चस्तरीय सुझाव समिति” गठन गरौँ।
४. संवैधानिक पदहरूमा नियुक्तिका सन्दर्भमा सर्वोच्च अदालतबाट हालै भएको फैसलाले संविधानसभाद्वारा निर्मित संविधानको मूल मर्ममाथि गंभीर प्रहार गरेको छ। संविधानको सर्वोच्चतालाई कमजोर बनाएको छ। ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचको शक्ति सन्तुलनलाई खलबलाएको छ। यसबारे यो बैठक मार्फत पार्टीको ठोस धारणा सार्वजनिक गरौँ।
५. भातृ संस्थाहरूको हरेक २ वर्षमा तोकिएको महिना र दिनमा अधिवेशन सुनिश्चित गरौँ। उपयुक्त सफ्टवेयर प्रयोग गरी प्रत्येक सदस्य मतदाता रहनेगरी प्रत्यक्ष निर्वाचनबाट नेतृत्व निर्वाचित गरौँ।
६. पार्टीको सबै तहको कार्यकाल विद्यमान ४ वर्षबाट घटाएर ३ वर्ष कायम गरौँ।
७. सरकार भित्र र पार्टी भित्र पनि सुशासन अभियान चलाऔं। निर्वाचित जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका जारी गरेजस्तै पार्टी नेता एवं सदस्यहरूका लागि पनि “नेपाली कांग्रेस सुशासन र सुसंस्कार निर्देशिका” जारी गर्न जरुरी भयो, गरौँ।
८. नेपाली कांग्रेसका बाँकी विभागहरू अविलम्व गठन गरौँ। प्रत्येक विभागमा १८-३० उमेर समूह र विषय विज्ञ, बुध्दिजिवीहरूको कम्तिमा एक-तिहाई सहभागिता रहनेगरी सबै विभागलाई शीघ्र पूर्णता दिऔं।
९. भ्रष्टाचारको सवालमा नेपाली कांग्रेसको “कोही अपराधि नउम्किउन, निर्दोष कोही नफसुन” भन्ने दृष्टिकोण र प्रतिवध्दतालाई मन, वचन, कर्मले अझै प्रखर तुल्याऔं। भ्रष्टाचारलाई तिरष्कार गरौँ।
१०. सय दिने विशेष अभियानको क्रममा चितवन पुगेर तोकिएका जिम्मेवारी सम्पन्न गरेपछि मैले पाएको निष्कर्ष के हो भने हामीले आफूलाई जगमा रहेका, संघर्ष गरेका, समूदायसँग जोडिएका अग्रज एवं साथीहरूको राय सुझाव अनुसार समयसापेक्ष रूपान्तरण गर्यौं भने पार्टीलाई पूर्ववत अझै सशक्त, मजवुत र लोकप्रिय बनाउन सकिन्छ। आगामी दिनमा जिल्ला-जिल्लामा २ वटा अभियान संचालन गर्न प्रस्ताव गर्दछु- (क) आन्तरिक मेलमिलाप तथा एकता अभियान (ख) “जनताको सरोकार, जनतासँग एकाकार” अभियान
Shares

प्रतिक्रिया