राजनीति


माओवादी केन्द्रसहित ५ कम्युनिस्ट पार्टीले काठमाडौँमा प्रदर्शन गर्ने, कार्यदल गठन

माओवादी केन्द्रसहित ५ कम्युनिस्ट पार्टीले काठमाडौँमा प्रदर्शन गर्ने, कार्यदल गठन

नेपालखबर
असार २१, २०८२ शनिबार १७:३५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका ५ कम्युनिष्ट पार्टीले ‘साम्राज्यवादी युद्ध र आक्रमणका विरुद्ध’मा छिट्टै काठमाडौँमा ठूलो प्रदर्शन गर्ने भएका छन्। 

शनिबार माओवादी केन्द्रको कार्यालयमा बसेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा (विप्लव) नेकपा मसाल र नेकपा क्रान्तिकारी माओवादीको बैठकले यस्तो निर्णय गरेको हो। 

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार प्रदर्शनका लागि ठोस कार्यक्रम बनाउन सबै पार्टीबाट २–२ जना रहनेगरि कार्यदल समेत बनाइएको छ। 

‘ इजरायलले प्यालेस्टाइनमाथि र अमेरिका- इजरायलले इरानमाथि जुन हमला गरे त्यसको विरोधस्वरुप हामीले राष्ट्रिय नाच घरमा एउटा ठूलो अन्तरक्रिया गरेका थियौँ, त्यसको समीक्षा गर्‍यौँ,’ उनले भने, ‘कार्यक्रम राम्रो रह्यो। सन्देश बाहिर राम्रो गयो भन्ने निष्कर्ष निकालेका छौँ।’

विश्वकर्माले थपे, ‘साम्राज्यवादी युद्ध र आक्रमणका विरुद्धमा छिट्टै काठमाडौँमा ठूलो प्रदर्शन गर्ने भन्नेमा पुगेका छौँ। त्यसका निम्ति सबै पार्टीबाट दुई–दुई जना रहनेगरि कार्यदल गठन भएको छ। कार्यदलको पर्सि बैठक बस्छ र ठोस कार्यक्रम बनाउँछ।’

कार्यदलमा माओवादी केन्द्रबाट देव गुरुङ र लिलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीबाट बलराम बास्कोटा र अर्को एक जना पछि थप हुने, क्रान्तकारी माओवादीबाट परि थापा र अर्को एक जना पछि थप हुनेछ।

त्यस्तै नेकपाबाट खड्गबहादुर विश्वकर्मा  र चिरण सी छन् भने नेकपा मसालबाट भैरव रेग्मी र अर्को एक जना पछि थपिनेछन्।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad