राजनीति


प्रदेशको सफलता संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति

प्रदेशको सफलता संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति

नेपालखबर
असार १८, २०८२ बुधबार १४:१७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका छन्।

बुधबार शीतल निवासमा राष्ट्रपति पौडेल र प्रदेश प्रमुखहरूबीच भएको भेटर्वार्तामा उनले लोकतन्त्रलाई सफल बनाउन प्रदेश सफल हुनुपर्ने धारणा राखे।

‘प्रदेशहरू सुदृढ भए यो व्यवस्था सुदृढ हुन्छ, संविधानको सम्पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाट संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ’, राष्ट्रपति पौडेलले भने।

प्रदेश प्रमुखहरू प्रदेशको प्रमुखका साथै केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले प्रदेश प्रमुखहरू संघीयताको सेतुका रूपमा रहेका उल्लेख गरे। ‘सोही कारणले राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच निरन्तर सम्पर्क, संवाद र समन्वय हुन जरुरी छ’, उनले भने।

राष्ट्रपति पौडेलले प्रादेशिक कानुन निर्माण प्रक्रिया सम्पन्न गरेर शीघ्र कार्यान्वयनमा लैजाने गरी भइरहेको बताए। ‘प्रादेशिक कानुन जति छिटो लाग्छौँ, त्यसी सहज हुन्छ। परिवर्तनको लाभ जतिसक्दो चाँडो नागरिकको आँगनमा पुर्‍याउन सक्यो त्यति जनतामा व्यवस्थाप्रतिको भरोसा अभिवृद्धि हुन्छ, यसमा विलम्ब नगरी सरोकार भएका सबैलाई आफ्नोतर्फबाट झक्झकाउने काम गरौँ’, उनले भने।

‘प्रदेशको संरचनाले मात्र राजनीतिक महत्त्व स्थापित हुँदैन, यसको चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउन जरुरी छ, चरित्रको परिवर्तन हुनु मुख्य विषय हो। राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोडौँ, प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा गरौँ, साथसाथै अन्तरप्रदेश सहकार्य र समन्वयमा जोड दिऔँ, एकापसको सहकार्यले सबैलाई लाभ पुग्नेछ भन्ने मलाई लाग्छ’, राष्ट्रपति पौडेलले भने।

उनले प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँनयाँ योजना बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता औँल्याए। नागरिकको सम्मान, स्वाभिमान र समृद्धि भएकाले यसमा प्रदेश प्रमुखहरूले सम्पूर्ण प्रदेशलाई केन्द्रित गर्न झक्झकाउने काम गर्नुपर्ने उनको भनाइ छ।

‘मेरो जोड सुशासन, जनतामा प्रभावकारी सेवा प्रवाह र लोकतन्त्रको सुदृढीकरणमा केन्द्रित छ, जनस्तरमा लोकतन्त्रप्रति भरोसा जगाउन बौद्धिक वर्ग, नागरिक समाजका अगुवालाई सम्पर्क तथा छलफल गरी सहकार्य र समन्वयबाट मार्ग निकाल्न पहल गर्नुपर्छ’, राष्ट्रपति पौडेलले भने।

विकास निर्माण, सुशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृतिलगायत क्षेत्रको विकास, विस्तारमा सुझाव दिने र यी क्षेत्रमा सम्पर्क तथा सम्बन्ध विस्तार गर्ने काममा लाग्न उनले प्रदेश प्रमुखलाई सुझाव दिए। राष्ट्रपति पौडेलले हामी सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेतर्फ लागौँ भन्ने आग्रह गरे।

सो अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाइ, कानुन नियममा रहेका अन्यौललगायत विविध पक्षका बारेमा जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन हुन राष्ट्रपतिसमक्ष आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad