नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएपछि नेतृ रामकुमार झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ।
केन्द्रीय अनुशासन आयोगका उपप्रमुख बालचन्द्र मिश्रले मंगलबार (असार १७ गते)को मितिले ३ दिनको समय दिएर स्पष्टीसोधेका हुन्।
'तीन दिनभित्रमा जवाफ दिनू भनेर पत्र पठाइएको छ' एक पदाधिकारीले नेपालखबरसँग भने।
असार १५ मा बुटवलमा आयोजित पार्टीनिकट युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपालमाथि प्रश्न उठाएकी थिइन्।
'कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,' उनले भनेकी थिइन्, 'अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।'
पतन्जलीको जग्गा प्रकरणमा मुछिएका नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा छाड्न आदेश गरेको छ। उनको सांसद पद पनि निलम्बनमा परेको छ।
काभ्रेपलाञ्चोकमा पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीको नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेचको प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।
Shares

प्रतिक्रिया