सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले कानुन व्यवसायीको पक्षधरता हुने भए पनि न्यायाधीश निष्पक्ष हुनुपर्ने धारणा पनि राखे।
आफू न्यायाधीश बनेपछि निरपेक्ष रूपमा काम गर्ने दाबी पनि उनले गरे। न्यायाधीश भएपछि संविधान, कानुन र न्यायको पक्षमा अब्बल सावित गर्ने प्रतिबद्धता उनले जनाए।
‘उनले भने, ‘कानुन व्यवसायीहरूले एउटा न एउटाको पक्षमै काम गर्नुपर्छ। तर, न्यायाधीश भएपछि न्यायाधीशको पक्ष हुँदैन। न्यायकर्मीको जिम्मेवारी पाएँ भने मेरो जुन रोल थियो, त्यसलाई परिवर्तन गरेर संविधान, कानुन र न्यायको पक्षमा अब्बल सावित गर्नेछु। न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ। त्यस्तो दृष्टिकोण न्यायाधीशले राख्नुपर्छ। यसको लागि न्यायपालिकामा दबाब, प्रलोभनहरू आउन सक्छन्। धम्की आउन सक्छन्। त्योभन्दा माथि उठेर निर्णय गर्नुपर्छ। कार्यपालिका र व्यवस्थापिकासँगको सम्बन्धमा पनि न्यायपालिकाको भूमिका हुन्छ।’
सबैले संविधानभित्रै रहेर काम गर्नुपर्ने उनको धारणा थियो। संविधानको सीमाभित्र रहेर काम गर्न नसके मुलुकमा गतिरोध हुने जिकिर उनको भनाइ थियो।
वरिष्ठ अधिवक्ता पोखरेल यसअघि सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष थिए।
Shares

प्रतिक्रिया