मदन भण्डारी फाउन्डेसनले भोलि असार १४ गते बृहत् कार्यक्रम गर्दै छ।भण्डारीको ७४औँ जन्म जयन्तीको अवसर पारेर फाउन्डेसनले भृकुटीमन्डपस्थित पुरानो राष्ट्रिय सभा गृहमा राखेको कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाएको छ।
विशिष्ट अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छन्। फाउन्डेसनका संरक्षकसमेत रहेका ओली उक्त कार्यक्रममा जान भ्याउँछन् कि भ्याउँदैनन्, फाउन्डेसनका सरोकारवालाहरू अन्योलमा छन्। किनकि, भोलि नै प्रधानमन्त्री ओली स्पेन जाने कार्यक्रम छ।
हुन त उनी साँझ स्पेनको लागि प्रस्थान गर्ने कार्यक्रम भए पनि अन्य केही महत्त्वपूर्ण कार्यक्रम तय भइसकेकाले ओलीलाई समय मिलाउन हम्मे परिरहेको छ। फाउन्डेसनका पूर्वअध्यक्ष महेन्द्रबहादुर पाण्डे सो कुरा स्वीकार गर्छन्।
‘उहाँ स्पेन जाने भोलि नै हो,’ पाण्डेले भने, ‘त्यसो हुँदा फाउन्डेसनको कार्यक्रममा सहभागी भएर जाने कि भन्ने छ।’
प्रधानमन्त्री ओली शनिबार साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड जाने तालिका छ। असार २० गते साँझ ४:४५ बजे फर्कनेछन्।
फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले भने प्रधानमन्त्री ओली आफैँले कार्यक्रममा सहभागी हुने जानकारी दिएको बताइन्। ‘उहाँ (प्रधानमन्त्री)ले अहिलेसम्म आउँछु नै भनेर भन्नुभएको छ,’ भण्डारीले भनिन्, ‘अरू त खबर गर्नुभएको छैन।’
‘उहाँको स्पेन जाने कार्यक्रम सुनेपछि पनि हामी लगातार सम्पर्कमै छौँ, अस्तिको दिनसम्म संवादमा थियौँ, उहाँले आउँछु नै भन्नुभएको छ,’ उनले थपिन्, ‘प्रमुख अतिथि हो। उहाँले आफैँले भ्याउँछु भन्नुभएको छ।’
प्रधानमन्त्री उक्त कार्यक्रममा जाने नजाने अन्योल भएको नेताहरूले नै बताएपछि हामीले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका स्वकीय सचिव राजेश वज्राचार्यलाई टेलिफोन सम्पर्क गर्यौँ। तर, उनी सम्पर्कमा आउन चाहेनन्।
प्रधानमन्त्रीका सचिवालयका अन्य अधिकारीसँग सम्पर्क गर्दा उनीहरूले प्रस्ट जवाफ दिएनन्।
‘फाउन्डेसनको कार्यक्रममा सहभागी हुने कुरा छ,’ सचिवालयका एक सदस्यले भने।
उक्त कार्यक्रमबाट भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा खुल्न लागेको घोषणा गर्दै छिन्। उनले प्रधानमन्त्री ओलीकै सामुन्ने एमालेको सक्रिय राजनीति थालेको घोषणा गर्न चाहेकी छन्।
दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीले सक्रिय राजनीति छाडेको झन्डै १० वर्ष भएको छ। एमालेकी उपाध्यक्ष रहेकी उनले राष्ट्रपति चुनिएपछि औपचारिक राजनीति छोडेकी थिइन्।
२०७२ कात्तिक ११ गते राष्ट्रपति निर्वाचित भएकी भण्डारी त्यसपछि २०७४ फागुन २३ मा दोस्रोपटक राष्ट्रपति चुनिइन्।
२०७९ फागुन २९ गते उनी शीतलनिवासबाट बिदा भएकी हुन्। दुईपटक गरेर उनी कुल ७ वर्ष शीतलनिवासमा रहिन्।
भोलिको कार्यक्रममा ओली सहभागी भए पनि भण्डारीले उनकै सामुन्ने राजनीतिमा खुलेको उद्घोष गर्ने अवसर पाउँछिन् कि पाउँदिनन् भन्ने पनि चासोको विषय छ।
‘स्पेन जाने कार्यक्रम देखाएर आफू बोलेर हिँड्न पनि सक्नुहोला,’ भण्डारीनिकट एक प्रभावशाली एमाले नेताले नेपालखबरसँगको कुराकानीमा भने, ‘तर, उहाँले भण्डारीको कुरा सुन्ने हिम्मत गर्नुपर्छ। आफू बोलेपछि आफ्ना समर्थकलाई लिएर हिँड्ने कुराले राम्रो सन्देश दिने छैन।’
कार्यक्रमका अन्य वक्तामा ईश्वर पोखरेल पनि छन्। ईश्वर पोखरेलकै नेतृत्वमा देशव्यापी अभियानको घोषणा गर्ने गृहकार्य पनि भइरहेको नेताहरूले बताएका छन्।
Shares

प्रतिक्रिया