राजनीति


बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

नेपालखबर
असार १०, २०८२ मंगलबार ९:३०, काठमाडौँ

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्तापक्षीय दलको बैठक बसिरहेको छ।

जारी सत्तापक्षीय बैठकमा सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली

बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा सीके राउतलगायत नेता सहभागी छन्। 

यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल, कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर पनि बैठकमा सहभागी छन्। 

मंगलबार बालुवाटारमा जारी सत्तापक्षीय बैठक।

आज आगामी वर्ष ०८२/०८३ को विनियोजन विधेयक (बजेट) संसद्‌बाट पास गर्ने तयारी छ। त्यसअघि सत्तापक्षीय दलहरूको बैठक बसेको हो।

तर बजेटमा राखिएका केही प्रावधानमा सत्तारुढ दलबीच एकमत हुन सकेको छैन। 

सोमबार मात्र कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णु पौडेललाई फोन गरी बजेटका केही प्रावधान तत्काल हटाउन भनेका छन्। अन्यथा बजेट पास नहुने चेतावनी देउवाले दिएका छन्। 

बजेट पास गर्ने कार्यसूची राखेर आज (मंगलबार) बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसअघि बैठकले श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ।

बैठकमा सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालद्वारा प्रस्तुत खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad