आगामी आर्थिक वर्षको बजेटमा तिब्र असन्तुष्ट व्यक्त गरिरहेको सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णु पौडेललाई बजेटका केही प्रावधान तत्काल हटाउन भनेका छन्। सोमबार प्रतिनिधिसभाको आफ्नै कार्यकक्षमा रहेका देउवाले अर्थमन्त्री विष्णु पौडेललाई फोन गरेर बजेटमा उल्लेख भएको टेक एन्ड पे को व्यवस्था हटाउन भनेका हुन्।
'यो तत्काल हटाउनू। यो नहटाए बजेट पास हुने अवस्था हुँदैन। यो राम्रो भएन' देउवाले पौडेललाई भनेका थिए।
देउवासँगै रहेका कांग्रेसका एक सांसदका अनुसार पौडेलसँग कुरा गरिसकेपछि देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गरेका थिए।
'तपाईंको जस्तो हुँदैन यहाँ मेरो पार्टीमा त विरोध गर्ने पनि हुन्छन्। यो टेक एन्ड पे को व्यवस्था हटाइएन भने गाह्रो हुने देखियो। यसलाई तत्काल हटाउनुपर्यो अनि मात्रै बजेट पास गरौँ,' उनले भने।
भोलि बजेट पास गर्ने तयारी छ। बजेट पास गर्न सत्तारुढ दलहरूले ह्विपसमेत जारी गरिसकेका छन्।
Shares

प्रतिक्रिया