राजनीति


न्यायाधीश नियुक्ति प्रभावित पारेको आरोपबारे कानुनमन्त्रीको जवाफ– खहरे खोलाजस्तो अनुशासनहीन मान्छे होइन

अमरेश सिंहको पनि कल डिटेल जाँच गर्न सकिने चेतावनी
न्यायाधीश नियुक्ति प्रभावित पारेको आरोपबारे कानुनमन्त्रीको जवाफ– खहरे खोलाजस्तो अनुशासनहीन मान्छे होइन

नेपालखबर
असार ९, २०८२ सोमबार १७:५२, काठमाडौँ

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले न्यायाधीश नियुक्तिमा प्रभावित पारेको आरोपको खण्डन गरेका छन्।

सोमबार प्रतिनिधिसभामा कानुनमन्त्रालयको बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफू खहरे खोलाजस्तो अनुशासनहीन मान्छे नभएको समेत टिप्पणी गरे। 

‘न्यायाधीशहरुको योग्यता संविधान तथा प्रचलित कानुनमा उल्लेख गरिएको र सोही व्यवस्था अनुसार नै न्यायाशीध नियुक्ति हुने गरेकोछ,’ सांसद अमरेश सिंहले लगाएको आरोपको जवाफ दिँदै चौरसियाले भने, ‘संविधान र कानुनभन्दा बाहिर गएर न्यायाधीश नियुक्ति नभएको र मान्य सदस्यले भनेजस्तो पार्टीको सिन्डिकेट वा दलीय प्रभाव पर्नेगरी न्यायाधीश नियुक्ति भएको छैन।’

न्यायिक परामर्शमा आफ्नो मन्त्रालको भूमिका के हुन्छ भन्दै उनले प्रतिप्रश्नसमेत गरेका छन्। ‘माननीयजीले मेरो बारेमा पनि केही कुरा उठाउनुभएको छ,’ मन्त्री चौरसियाले भनेका छन्, ‘न्यायिक परामर्श कानुन न्याय तथा संसदीय मामिलामन्त्री र मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ कि पर्दैन? म उहाँलाई प्रश्न सोध्न चाहन्छु।’

उनले आफूले सधै चरित्रयुक्त राजनीतिक जीवन बिताएको समेत उल्लेख गरे। ‘उहाँले मेरो बारेमा आरोप लगाउनु भएको छ,’ चौरसियाले भने, ‘मेरो राजनीतिक जीवनमा नैतिकता, चरित्रको राजनीति गरेको व्यक्ति हुँ। र, म कहिले पनि व्यक्तिगतरुपमा आफूलाई खहरेखोलाजस्तो अनुशासनहीन र उडिरहेको चङ्गाको लट्टाइबाट चुडिएपछि जसरी अनुशासनहीन ढंगले खसेर च्यातिएको हुन्छ। त्यस्तो व्यक्तित्व मेरो होइन।’

कसैमाथि आरोप लगाउँदा आफूसँग त्यसबारे के प्रमाण छ भन्ने हेक्का राख्न समेत आग्रह गर्दै उनले त्यस्तो कुनै प्रमाण भए पेस गर्न समेत चेतावनी दिए। ‘माननीयजीले हेक्का राख्नुपर्छ कुनै आरोप लगाउँदा कहाँ त्यस्तो प्रमणा पाउनुभयो?,’ चौरसियाको चेतावनी छ, ‘मेरो खिलाफमा, मेरो विरुद्धमा त्यस्तो कुनै प्रमाण छ भने उहाँले पेस गरे हुन्छ।’

उनले आफ्नो मात्रै नभइ सांसद आफूमाथि आरोप लगाउने सांसद सिंहको पनि कल डिटेल जाँच गर्न सकिने चेतावनी दिए। ‘मेरो मात्रै कल डिटेल होइन, उहाँको कसरी सम्पर्क भयो न्याय क्षेत्रको व्यक्त्विसँग?,’ चौरसियाको प्रश्न छ, ‘उहाँको पनि कल डिटेल चेक गर्न सकिन्छ। निराधार, काल्पनिक र असत्य आरोप लगाउनु हुँदैन संसद्‍ भित्र।’ 

कुनै पनि सांसदले बोल्दै गर्दा त्यो कुरा सत्य हो कि होइन त्यसको विचार गरेर मात्रै बोल्नुपर्ने समेत उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad