राजनीति


देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ: प्रधानमन्त्री ओली

देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ: प्रधानमन्त्री ओली

नेपालखबर
असार ६, २०८२ शुक्रबार १७:४०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्काे ओभरपास आज उद्घाटन गरेका छन्। 

नवनिर्मित ओभरपासमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्। ‌ओभरपास इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको हो।

कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ। ग्वार्काे चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको निर्माण सम्मपन्न भएर उद्घाटन हुनु खुसीको कुरा भएको बताउँदै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको पनि बताए।  

'हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ। हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो। तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ। त्यसको उत्खनन्को सुरुवात पनि मैले नै गरेको थिएँ। धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ,' प्रधानमन्त्री ओलीले भने, 'यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ। ठुलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ। अरु खनिजको उत्खनन् गर्नेछौँ। कृषिको आधुनिकीकरण गर्नेछौँ। नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ। हामीले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन। आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ।'

सुनकोसी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराइको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउँदै उनले देशले गति लिन चाहेको अवस्थाका रुपमा अगाडि बढेको बताए। उनले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad