राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूका केही कुरा सुन्नै नचाहेपछि आजको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको जनाएको छ। आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची थियो।
तर रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथिको छानबिनको माग राख्दै गर्दै आएको अवरोधलाई निरन्तर दिएपछि उक्त कार्यक्रमलाई कार्यसूचीबाटै हटाइयो।
रास्वपाका सांसदहरू आज निलो रिबन भिरेर कालो पोसाक लगाएर सदनमा गएका थिए। आजको बैठकको कार्यसूचीमा प्रवेश भएको सूचना सभामुख देवराज घिमिरेले सुनाएलगत्तै उनीहरूले नाराबाजी गरेका थिए।
त्यसपछि प्रधानमन्त्री सदनबाट बाहिरिए। त्यसलगत्तै रास्वपाका सांसदले पनि बैठक बहिष्कार गरे। त्यसअघि राप्रपाले पनि बैठक बहिष्कार गरिसकेको थियो।
'हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौँ । तर, उहाँले त्यो कुरा सुन्न चाहनुभएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो,' झाले भने, 'तसर्थ, हामीले बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएकाले बैठक बहिष्कार गरेर निस्किएका छौँ ।'
रास्वपाले जेठ १३ गतेदेखि लगातार सदनमा विरोध जारी राखेको छ।
Shares

प्रतिक्रिया