स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियाले न्यायाधीशमार्फत मुद्दाहरू प्रभावित पार्न खोजिरहेको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकमा खर्च कटौती शिर्षकमा आफ्नो भनाइ राख्नेक्रममा उनले कानुनमन्त्रीले न्यायाधीशहरूलाई प्रभावित पार्न खोजेको आरोप लगाएका हुन्।
'नेता र मन्त्रीको कल डिटेल सार्वजनिक हुनुपर्छ। म सुन्दै आइरहेको छु- कानुनमन्त्रीले बिहानबिहानै कसैको मुद्दा जिल्ला अदालतमा छ भने एक नम्बर न्यायाधीशलाई फोन गर्नुहुन्छ, उच्च अदालतमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ,' उनले भने, 'सर्वोच्च अदालतमा छ भने त्यही न्यायाधीशलाई फोन गर्नुहुन्छ। उहाँको कल डिटेल रेकर्ड हेरेर छानबिन गर्नुपर्छ।'
सिंहले कल डिटेल हेर्दा मन्त्री निर्दोष देखिए आफू पद त्याग गर्न तयार रहेको बताए।
त्यस्तै उनले न्याय परिषद् नै सिन्डिकेट भएकोले विघटन गर्नुपर्ने बताए।
Shares

प्रतिक्रिया