राजनीति


विज्ञान प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न आवश्यक छ: राष्ट्रिय सभा अध्यक्ष दाहाल

विज्ञान प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न आवश्यक छ: राष्ट्रिय सभा अध्यक्ष दाहाल

नेपालखबर
असार ४, २०८२ बुधबार १४:३८, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको युवा वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वैज्ञानिक अनुसन्धान र प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यको स्पष्ट नीति, पर्याप्त लगानी, सहकार्य प्रणाली र पूर्वाधार निर्माण आवश्यक रहेको बताएका हुन्।

'वैज्ञानिक अनुसन्धान तथा आविष्कारको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हासिल गर्न अझै सकेको छैन,'उनले भने, अनुसन्धान अनुकूल संरचना र पूर्वाधारको अभाव, सरकारी लगानीको न्यूनता र नवप्रवर्तनलाई व्यवसायमा रूपान्तरण गर्ने प्रणालीको कमजोरी समाधान गर्न राज्य गम्भीर हुनुपर्छ।'

नेपालका युवामा रहेको सिर्जनशील सोच, सीप र क्षमतालाई देशमै प्रयोग गरी राष्ट्र निर्माणमा परिचालन गर्नुपर्ने बताउँदै उनले युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था न्यूनीकरणका लागि देशभित्रै भरोसा र अवसर निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। यस्ता सम्मेलनहरूले युवामा आशा र सम्भावनाको नयाँ आधार खडा गर्ने उनको भनाइ थियो।

विज्ञान प्रविधिमा नेपाल अझै पछाडि रहेको स्वीकार गर्दै अध्यक्ष दाहालले अनुसन्धान पूर्वाधार, सरकारी तथा निजी लगानी, विश्वविद्यालय र प्रयोगशालाबीच समन्वय अभाव, नवप्रवर्तनको व्यवसायीकरण गर्न नीतिगत प्रोत्साहन जस्ता पक्षहरूमा सुधारको आवश्यकता औँल्याए। उनले अनुसन्धान अनुदान, नवप्रवर्तन कोष, प्राविधिक शिक्षाको सुदृढीकरण तथा बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका लागि स्पष्ट संरचना निर्माण गर्न जोड दिए।

अध्यक्ष दाहालले विज्ञान तथा प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यले नीति निर्माण, पूर्वाधार विकास, जनशक्ति उत्पादन र अनुसन्धान प्रवर्द्धनलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उहाँले संघीय संसदले प्रविधिको विकासमा दृष्टिगत गर्दै विभिन्न विधेयकहरू निर्माण गरिरहेको सन्दर्भमा विज्ञान प्रविधिसँग सम्बन्धित कानुनहरू युवामैत्री बनाउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। 

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, मिडिया काउन्सिल विधेयकहरू संघीय संसदमा छलफलकै क्रममा रहेको र छिट्टै पारित हुने विश्वास व्यक्त गरे। 

अध्यक्ष दाहालले विज्ञान प्रविधिको क्षेत्रमा आत्मनिर्भर बन्न नीतिगत स्थायित्व मात्र नभई पूर्वाधार निर्माण, दक्ष जनशक्ति उत्पादन र अनुसन्धान प्रवर्द्धनलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। 'सरकारले नीति तथा कार्यक्रम र बजेटमा विज्ञान प्रविधिको क्षेत्रमा विकास गर्न र लगानी बढाउन केही प्रतिबद्धताहरू जनाएको छ,' उनले भने, 'त्यसलाई कार्यान्वयन गर्ने र बजेटको सही सदुपयोगमा इमान्दारिता कायम गर्ने हो भने पक्कै पनि केही सफलता मिल्छ भन्ने विश्वास मैले लिएको छु।'

उनले विज्ञान तथा प्रविधिमा आधारित राष्ट्र निर्माणको सन्दर्भमा युवाको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै युवा वैज्ञानिकहरूलाई सिर्जनशील सोच, प्रयोगशील क्षमता र अनुसन्धानमूलक प्रवृत्तिमा अझ प्रोत्साहित गर्न आग्रह गरे। 

राष्ट्रिय युवा परिषद्, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट), रोबोटिक्स एशोसिएसन नेपाल लगायतको सहकार्यमा आयोजना गरिएको उक्त सम्मेलनमा युवा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधिमा नवप्रवर्तन गर्ने युवाहरूको सहभागिता रहेको थियो।

सम्मेलनमा नवप्रवर्तनशील प्रविधिको प्रदर्शनीका साथै विविध वैज्ञानिक विषयमा विज्ञहरूमार्फत विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad