राजनीति


‘मध्यपूर्वमा रहेका नेपालीलाई उद्धार गर्न सरकारले योजना बनाएको छ’

‘मध्यपूर्वमा रहेका नेपालीलाई उद्धार गर्न सरकारले योजना बनाएको छ’

नेपालखबर
असार ३, २०८२ मंगलबार २१:५५, काठमाडौँ

सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने कार्य योजना बनाएको छ।

मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करको अध्यक्षतामा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, परराष्ट्र, पर्यटन, कानुन तथा निजी क्षेत्रका सरोकारवालाको आपतकालिन बैठकले यस्तो योजना भएको हो। 

इरान र इजरायलबिचको युद्ध चर्कँदै गएपछि मध्यपूर्वमा रहेको नेपालीको सुरक्षाको लागि सरकारले योजना बनाएको हो। मन्त्रालयका सचिव पुष्करले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर सरकारले बहु आयामिक तयारी गरिरहेको बताए। 

उनले सरकार, निजी क्षेत्र, एनआरएन तथा अन्तर्राष्ट्रिय साझेदारहरूको समन्वयमा सम्भावित सङ्कट व्यवस्थापनका लागि प्रो–एक्टिभ (पूर्वतयारसहित) कदम चालिएको जानकारी दिए। 

उनले आफ्ना आफ्नो तर्फबाट गर्नुपर्ने पहलकदमीको लागि परराष्ट्र, गृह र प्रधानमन्त्री कार्यालयलाई अनुरोध गरेको जिकिर गरे। उनले नेपाल आउन चाहनेहरूको लागि सहजीकरण गर्नेदेखि छिमेकी मुलुक हुँदै आउनुपर्ने वातावरण सिर्जना भएको अवस्थामा भिसा सहजीकरणको लागि अनुरोध गरेको बताए।  

उनले भने, ‘नेपाली नागरिकहरू जुन–जुन देशहरूमा हुनुहुन्छ, सरकारी क्षेत्रबाट गर्ने सुरक्षाका प्रत्याभुतिका कुराहरू सरकारी क्षेत्रबाट गर्ने, निजी क्षेत्रबाट गर्ने, एनआरएन तथा डायस्पोराबाट गर्नुपर्ने तयारी, निजी क्षेत्रले गर्ने तयारी, वैदेशिक रोजगार मेनपावरहरुको तयारी र कसरी यो समस्यालाई सम्बोधन गर्दा नेपाली नागरिकलाई कुनै पनि समस्या पर्दैन त्यसको लागि हामी प्रो–एक्टिभ भएर नै यसको तयारी गरेका छौँ।’

उनले थपे, ‘जुन सुकै चुनौती आए पनि नेपाली नागरिकहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिने र उहाँहरूलाई आउन चाहनुहुन्छ भने आउनको लागि सहजीकरण गर्ने। उहाँहरूलाई अप्ठ्यारो परेको अवस्था छ भने छिमेकी मुलुक हुँदै आउने वातावरण र भिसा सहजीकरणको लागि पनि अनुरोध गरेका अवस्थाहरू छन्।’  

पछिल्लो समय मध्यपूर्वमा बढ्दै गएको तनावका कारण सो क्षेत्रमा रहेका नेपालीहरू प्रभावित भएका छन्। सरकारी तथ्याङ्क अनुसार इजरायलमा ५ हजारदेखि ७ हजारसम्म नेपालीहरू रहेका छन् भने इरानमा पनि दर्जन बढी नेपाली रहेको अनुमान गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad