राजनीति


मान्छे बेचेर देश चलाउने अवस्थाको बजेट ‘थैली शाह’ वर्गका निम्तिः चित्रबहादुर केसी

मान्छे बेचेर देश चलाउने अवस्थाको बजेट ‘थैली शाह’ वर्गका निम्तिः चित्रबहादुर केसी

नेपालखबर
असार २, २०८२ सोमबार १५:४०, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै अध्यक्ष केसीले यस्तो बताएका हुन्। उनले हरेक वर्ष पाँच लाख नेपाली श्रम बजारका लागि तयार हुने भएपनि उनीहरुलाई रोजगारी दिनेगरी बजेटमा कुनै कार्यक्रम समावेश नगरिएको बताए।

रोजगारी सिर्जना गर्नसक्ने क्षेत्र कृषिमा अझैपनि सामन्ती भूस्वामित्व कायम रहेको भन्दै किसानको सट्टा भूमाफियालाई पोस्नेगरी बजेट ल्याइएको अध्यक्ष केसीले दाबी गरे। दुध र मासुमा केही हदसम्म मुलुक आत्मनिर्भर हुँदै गइरहेको अवस्था आयातको लागत कम गराएर नेपाली कृषि उत्पादनलाई ध्वस्त पार्न खोजिएको उनको आरोप थियो।

आम जनता खुशी नहुने बजेटको स्वामित्व नेपाली जनताले लिन नसक्ने भन्दै अध्यक्ष केसीले मान्छे बेचेर देश चलाउने अवस्था रहेको र बजेट मुठीभरका थैली शाहवर्गका निमित्त बनेको बजेट भन्दा फरक नपर्ने स्पष्ट पारे।

उनले सरकारले संशोधन नगर्ने थाहा हुँदाहुँदै पनि जनताका बीचमा बजेटको विषय पुगोस् भनेर आफूले बजेटमाथिको छलफलमा भाग लिने गरेको बताए। 

उनले भने, ‘प्रत्येक वर्ष संसदमा बजेट प्रश्तुत हुँदा त्यसमाथिको छलफलमा भाग लिउँ कि नलिउँ भनेर मेरो मनमा प्रश्न उठिरहन्छ। छलफलमा भाग लिने हो भने प्रश्तुत बजेट जे जस्तो आएको छ त्यसमा सरकारले कुनै छाँटकाँट वा संशोधन गर्दैन। छलफलमा भाग नलिने हो भने बजेटको वास्तविकता जनताको बीचमा पुग्दैन। बजेटमा कुनै संशोधन होला भन्ने आशाले होइन, बजेटको वास्तविकता जनताबीच पुगोस् भनेर म यो रोष्ट्रममा उभिएको छु।’

उनले हरेक वर्ष नेपाली युवाहरुबाट कमिशन खाएर वैदेशिक रोजगारीका लागि विदेश पठाउने र तिनै युवाहरुले पठाएको रेमिट्यान्सबाट संसद र तीनै तहको सरकार चलाउने गरेको बताए।

‘बजेट प्रस्तुत हुँदा आम नेपाली जनतालाई कौवालाई बेल पाक्यो हर्ष न विस्मात भएको छ। यो बजेटले आम नेपाली जनतालाई खुशी बनाउन सकेको छैन। आम जनता खुशी नहुने बजेटको स्वामित्व पनि आम नेपाली जनताले लिनसक्ने कुरा पनि भएन। त्यो अवस्थामा यो बजेट मुठीभरका थैली शाह वर्गका निमित्त बनेको हो भन्दा फरक पर्दैन। अध्यक्ष केसीले भने, ‘राज्यमा भएका उद्योगहरु निजीलाई बिक्री गरिरहेको सन्दर्भमा नयाँ उद्योग खोल्ने नीतिबाट राज्य पछि हट्दै गइरहेको स्थितिमा उद्योग क्षेत्रले पनि नयाँ रोजगारी सिर्जना गर्नसक्ने प्रश्न भएन। त्यसैले हामी नेपालीहरुको अगाडि एउटै उपाय बाँकी रहन्छ त्यो भनेको वर्षेनी नेपाली युवाहरुबाट कमिसन खाएर वैदेशिक रोजगारीका लागि विदेश पठाउने, तिनै युवाहरुले पठाएको रेमिट्यान्सबाट संसद र तीनै तहका सरकार चलाउने।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad