प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्रको आवश्यकता अपरिहार्य रहेको बताएका छन्।
लोकसेवा आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सक्षम, योग्य र निष्पक्ष कर्मचारी प्रशासनिक व्यवस्थाको मेरुदण्ड भएको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले सरकार, व्यवस्थापिका र प्रशासन संयन्त्रबीचको सहकार्यलाई सुदृढ बनाउने कुरामा जोड दिँदै सरकार र व्यवस्थापिकाले बनाएका नीति तथा कानुनहरु कार्यान्वयन लागि महत्वपूर्ण भुमिका खेल्ने बताए। उनले कर्मचारीतन्त्रलाई राजनीतिभन्दा भिन्न तर राजनीतिको नजिक रहेर काम गर्ने संवैधानिक संयन्त्रको रूपमा व्याख्या गर्दै सरकारको कार्यसफलता धेरै हदसम्म कर्मचारीको सक्षमतामा निर्भर रहने उल्लेख गरे।
उनले भने, ‘तसर्थ मुलुक सञ्चालनका लागि आवश्यक कर्मचारी योग्य, दक्ष र निपूर्ण हुनुका अतिरिक्त स्वस्थ पनि हुनुपर्छ। लोक सेवा आयोगले जति स्वतन्त्र, निष्पक्ष, प्रभावकारी तथा वस्तुनिष्ट तवरले कर्मचारी छनोट गर्न सक्दछ। मुलुकको प्रशासनिक संयन्त्र त्यति नै बलियो र प्रभावकारी हुँदै जान्छ।’
उनले आयोगले मुलुकको प्रशासनिक संयन्त्र सञ्चालनका लागि महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै प्रशंसा गरे।
Shares

प्रतिक्रिया