राजनीति


माओवादी सांसद माधव सापकोटासँग ‘तत्कालै’: हामीलाई यो सरकार ढल्ला भनेर ठूलो तनाव छ (भिडिओ)


अनिल यादव
जेठ ३१ , काठमाडौँ

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै १८ दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अडान छाडेर सत्ता पक्षसँग दुई बुँदे सहमति गरेपछि सो पार्टीको अहिले सर्वत्र आलोचना भइरहेको छ।

भिजिट भिसाका नाममा भएको अवैध असुलीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सरकारले सहजीकरण गर्ने र अध्यागमनमा देखिएका समस्या समाधान गर्न आवश्यक अनुसन्धान गरी नीतिगत, कानुनी र संरचनागत प्रश्नमा उपयुक्त व्यवस्थाका लागि ठोस पहल गर्ने सहमतिमा माओवादीले हस्ताक्षर गरेको छ। कतिपयले यसलाई लेनदेन त केहीले माओवादीको आत्मसर्मपणका रूपमा अर्थ्याइरहेका छन्। 

तर, माओवादी सांसद माधव सापकोटा सरकार आनन्दसँग बसेपछि गृहमन्त्रीको राजीनामालाई सम्बन्धित व्यक्तिको नैतिकताको विषयका रूपमा छाड्दै आफूहरूले यो सहमति गरेको बताउँछन्।  

‘राजनीतिमा उतारचढाव सबै हुन्छ,’ नेपालखबर ‘तत्कालै’मा कुराकानी गर्दै शनिबार उनले भने, ‘पृष्ठभूमिमा हेर्दा भिजिट भिसा प्रकरण जुन ढंगले अगाडि आयो, सुरुमा गृहमन्त्रीको राजीनामाले प्राथमिकता पायो। प्रतिपक्षी घटकबीच छलफल हुँदा गृहमन्त्रीले राजीनामा दिनेबित्तिकै यो बेथिति, भ्रष्टाचार, मानवतस्करजस्ता गम्भीर विषय हल हुन्छ त? यसको त गहिरोगरी अध्ययन र छानबिन गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौँ। त्यसपछि हामीले के भन्यौँ भने राजीनामाको विषय सम्बन्धित मन्त्रीको नैतिकताको विषय बनाऔँ, अध्ययन र छानबिनलाई मुख्य रूपमा अगाडि बढाऔँ।’

संसदलाई बिजनेस दिने र व्यवस्थापन गर्ने जिम्मेवारी पाएको सरकार नै संसद् नचल्दा खुसी हुने अवस्था आएपछि आफूहरूले कांग्रेससँग छलफल गरेर यो सहमतिमा पुगेको उनको भनाइ छ। 

‘सरकार त बजेटको सिजनमा केही नभएजसरी बडो आनन्दसँग बस्ने, नारा लगाए पनि लगाऊन्, संसद् बन्द गरे पनि गरुन्, हाइसन्चो पो हुनेजस्तो भयो। त्यसपछि हाम्रो तर्फबाट कांग्रेससँग छलफल अगाडि बढाएका हौँ,’ उनले भने, ‘मूलतः कांग्रेसलाई विश्वास गरेर यो सहमति गरेका छौँ। यदि उहाँहरूले यसलाई लत्याएर जाने गर्नुभयो भने तीनचारवटा महत्त्वपूर्ण विधेयक र बजेट प्रक्रिया पूरा गरेपछि संघर्षका लागि त हाम्रो लागि जतिखेर पनि ढोका खुला छ। संघर्ष त गर्छौं हामी।’

सरकार अध्ययन र छानबिन गरेर निष्कर्षमा जाने दिशातिर नआए एक महिनापछि फेरि संघर्षको ढोका खुला रहेको उनले बताए। 

‘अब कहिल्यै संघर्ष गर्दैनौँ, तपाईंहरूसँग त्वम शरणम् भयौँ भनेका छौँ र हामीले?’ सापकोटाले भने, ‘फेरि राजनीतिमा त संवाद गर्दै सम्झौता पनि गर्दै जाने हो नि। यो पहिलोपटक गरेको सम्झौता हो र? हामी शान्ति प्रक्रियाको सुरुवातमा आउँदा पनि मान्छेहरूले यस्तै भन्थे। माओवादीले आत्मसमर्पण गर्‍यो भन्थे। के त्यतिबेला पनि हामीले आत्मसर्मपण गरेका हौँ त? राजनीतिमा अगाडि बढ्ने र पछाडि हट्ने कुराको तालमेल मिलाउन सकिएन भने त्यसले डोठ्याङ खान्छ। अहिले हामी थोरै पछाडि हटेजस्तो देखिन गएको छ तर व्यवहारतः हामी केही लचक जस्तो देखिए पनि सुशासनका मुद्दामा चट्टानजसरी हामी उभिन्छौँ।’

माओवादी अध्यक्ष प्रचण्डले निकै गहिरोगरी राजनीतिक सुझबुझका साथ यो निर्णय लिएको उनको दाबी छ। 

हामीले सापकोटालाई सोध्यौँ– ‘भिजिट भिसा प्रकरण मिलाउने क्रममा कांग्रेस र माओवादीबीच सरकार फेर्नेसम्मको समझदारी बनेको भन्ने छ। बजेट पास भएपछि नयाँ सरकार बनाउने सहमति भएको हो?’

जवाफमा सापकोटाले यसलाई अस्वीकार गरे। तर, यो सरकार ढल्ने दाबी भने गरे। 

‘हामीले भनेको के हो भने यो सरकारको धरातल गतिलो छैन,’ उनले भने, ‘स्थिरता र संविधान संशोधनका लागि बनाइएको भनिएको यो सरकार हामीले ढल्छ, ढल्छ, ढल्छ भनिराखेकै छौँ। प्रधानमन्त्रीले बिहान एकपटक, दिउँसो एकपटक र सुत्नुभन्दा अगाडि एकपटक गरी तीनपटक यो सरकार ढल्दैन, ढल्दैन, ढल्दैन भनिराख्नुपरेको छ। त्यसोभए कहाँबाट स्थिरता आयो? संविधानमा के के संशोधन गर्ने, उहाँहरूले भन्न सक्नुभएको छ?’

लगत्तै उनले थपे, ‘स्थिरता र संविधान संशोधनको देखावटी नारा अगाडि सारेर, अमूक व्यापारीको घरमा रातको १२ बजे स्वार्थ समूहहरूले गठजोड बनाइदिएर असारको दहीचिउरा खाँदै बनेको दहीचिउरे गठबन्धन हो यो। त्यसकारण यो गठबन्धनको धरातल बलियो नभएकाले आफ्नै बोझ थेग्न नसकेर ढल्छ भनेको हो। यो ढल्किराखेको छ, कुनै पनि बेला ढल्न सक्छ।’

यद्यपि, सरकार ०८४ सम्म जाँदा आफूहरूलाई फाइदा हुने तर्क सापकोटाको छ। माओवादीलाई यो सरकार ढल्छ भन्नेमा तनाव रहेको उनको भनाइ छ। 

‘यो सरकार ढल्ला भन्ने तनाव छ के हामीलाई,’ उनले भने, ‘यो सरकार ढलेपछि के गर्ने? सरकारमा जाऊँ भने पनि तनाव। सरकारमा नजाऊँ पनि व्यवस्था के हुन्छ? यो जटिलता र प्रश्न हामीसँग छ, त्यसैले बडो बुद्धिमतापूर्ण तरिकाले यो व्यवस्था कायम पनि राख्ने र ०८४ सम्म प्रतिपक्षमा बसेर जनतालाई अपिल र आह्वान गरेर सशक्त निर्णायक शक्ति बनेर आउने र जनताको बागडोर सम्हाल्नुपर्ने जिम्मेवारी छ। त्यसका लागि हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने छ।’

माओवादी केन्द्रका प्रभावशाली सांसद माधव सापकोटासँग नेपालखबर ‘तत्कालै’ :

फोटो/भिडिओः सरोज नेपाल

जेठ ३१, २०८२ शनिबार २०:५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad