राजनीति


उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस

उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस

लालबहादुर कुँवर, राजनप्रसाद भट्टराई, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारी


नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १२:१८, काठमाडौँ

न्याय परिषद्ले उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। 

न्याय परिषद्ले लामो गृहकार्यपछि आज बिहान यो निर्णय गरेको हो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। 

बैठकले भट्टराईलाई उच्च अदालत  विराटनगर, कुवँरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरमा पदस्थापनका लागि पनि सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षत्रीले जानकारी दिए।  

भट्टराई र कुँवर सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारबाट उच्च अदालतका न्यायाधीश भएका हुन्। उनीहरूलाई वरीयतामा अगाडि राख्न २०८० असोजमा न्याय परिषद्ले नियमावली नै संशोधन गरेको थियो। 

प्रधानन्यायाधीश राउतसमेत रहेको संवैधानिक इजलासले हालै मात्र उक्त नियमावली कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

यसअघि गत मंगलबार न्याय परिषद्ले सर्वोच्च अदालतमा ३ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। तीमध्ये २ जना उच्च अदालतका मुख्यन्यायाधीश थिए। मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापा सर्वोच्चमा सिफारिस भएपछि उनीहरूको खाली स्थानमा समेत गरी नयाँ मुख्य न्यायाधीश सिफारिस गरिएको हो।

न्याय परिषद्को सिफारिसअनुसार प्रधानन्यायाधीश राउतले मुख्य न्यायाधीश नियुक्त गर्नेछन्।

न्याय परिषद्को बैठकमा कानुनमन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ताद्वय रामप्रसाद भण्डारी र दामोदर खड्का सदस्यका रूपमा उपस्थित थिए।

 भण्डारीको कार्यकाल असारमा सकिँदै छ। उनको ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेशप्रसाद नेपाललाई पठाउने गरी कुराकानी चलाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad