ad ad

राजनीति


अष्ट्रेलियन दूतावास भन्छः अन्तर्राष्ट्रिय विद्यार्थीलाई सघाउने व्यवस्था छन्, केहि नियम लचिलो बनाइएको छ

अष्ट्रेलियन दूतावास भन्छः अन्तर्राष्ट्रिय विद्यार्थीलाई सघाउने व्यवस्था छन्, केहि नियम लचिलो बनाइएको छ

नेपालखबर
चैत २५, २०७६ मंगलबार १३:३५,

नेपालस्थित अष्ट्रेलियन दूतावासले कोभिड–१९ का कारण नयाँ तथा जटिल परिस्थिति सिर्जना भएपनि अष्ट्रेलियामा रहेका नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थीहरुले त्यहाँ बिभिन्न ढंगबाट आफ्नो खर्च लगायतको व्यवस्था गर्नसक्ने बताएको छ।

दूतावासले मंगलबार जारी गरेको सन्देशमा अष्ट्रेलिया सरकारले बिभिन्न क्षेत्रमा काम गरिरहेका सम्बन्धमा विद्यमान नियमहरु थप लचिलो समेत बनाएको जानकारी दिइएको छ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले केहि दिनपहिले दिएको वक्तव्यपछि अन्यौल सिर्जना भइरहेका बेला काठमाडौंस्थित दूतावासले सो जानकारीमूलक सन्देश जारी गरेको हो।

याे पनि : भिसाधारीलाई अष्ट्रेलियन प्रधानमन्त्रीको आग्रह : आफ्नै मुलुक फर्क

अष्ट्रेलियामा अहिले ५ लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थी रहेका र उनीहरु मुख्यतः उच्चशिक्षा र व्यवसायिक शिक्षा अध्ययन गर्ने गरेको उसले जनाएको छ। यीमध्ये ५० हजार विद्यार्थी नेपाली हुन्।

अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आफ्ना साथी, सहपाठी, सहकर्मी रसमुदायका सदस्यको रुपमा व्याख्या गर्दै दूतावासले कोभिड–१९ का कारण अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रभाव पारेको कुरा अष्ट्रेलियन सरकारले राम्रोसँग बुझेको बताएको छ।

यो कठिन परिस्थितिमा विभिन्न प्रकारका सहयोगहरु पनि उपलब्ध रहेको बताउँदै त्यसबारे जानकारी लिन उसले विद्यार्थीलाई सुझाएको छ।

‘कोरोना भाइरसबाट सिर्जित अवरोधका कारण विद्यार्थी भिसाको प्रक्रियाबारे आइपर्ने समस्याबारे सरकार लचिलोरुपमा प्रस्तुत हुनेछ,’ दूतावासले भनेको छ। ‘सरकारले विभिन्न क्षेत्रमा लागु गरेको ४० घण्टे कामको सीमालाई पनि तत्कालका लागि केहि लचिलो बनाइसकेको छ।’

सो लचिलो नियम लागु भएसँगै ज्येष्ठ नागरिकको रेखदेख र नर्सको रुपमा काम गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई दुई सातामा ४० घण्टाभन्दा बढि काम गर्न पाउँनेछन्।

त्यसैगरी बढि मागका कारण प्रमुख सुपरमार्केटमा सामान व्यवस्थित गर्न खटिने अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि सो समयसीमा लचिलो बनाइएको छ।

दूतावासले गृह मन्त्रालयका आधिकारिक वेबसाइट, मन्त्रालयले सञ्चालन गरेका नम्बरहरु लगायत सम्बन्धित निकायहरुमा सम्पर्क गरी आधिकारिक जानकारी लिन आग्रह गरेको छ। त्यसैगरी, आफूसम्बद्ध शैक्षिक संस्थाको सम्पर्कमा रही उपलब्ध सुविधाबारे जानकारी लिन पनि दूतावासले सुझाएको छ।

अस्थायी विद्यार्थी भिसा भएका विद्यार्थीहरुले ओभरसिज स्टुडेन्ट हेल्थ कभरका वीमा प्रदायकसँग परामर्श रही उनीहरुलाई उपलब्ध हुनसक्ने सेवाबारे जानकारी लिन आग्रह गरिएको छ।

प्रधानमन्त्रीले समेत सम्बन्धित राज्य र क्षेत्रहरुले आवासीय र व्यापारिकरुपमा भाडामा रहेकाहरुलाई यो कोरोना महामारीको संकटका बेला ६ महिनासम्म त्यहाँबाट निकाल्न रोक लगाइसकेका छन्। ‘विद्यार्थी यससम्बन्धी थप जानकारी चाहिएमा सम्बन्धित राज्य वा क्षेत्रका निकायमा सम्पर्क गरी बुझ्न सक्छन्,’ दूतावासले भनेको छ।

त्यसैगरी अष्ट्रेलियन सरकार सम्बन्धित अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका निकायहरुसँग मिलेर कोरोनाको समस्यालाई न्यूनिकरण गर्न लागिरहेको बताइएको छ।

अस्थायी भिसाधारीहरुले अष्ट्रेलियामैं रहेर आफ्नो व्यवस्था गर्ने विभिन्न उपाय खोज्न सक्ने उसले बताएको छ।

भिसा निवेदन प्रक्रियाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले पहिलो वर्ष भने पूर्णरुपमा आफै आफ्नो व्यवस्था गर्नसक्छन् भन्ने कुरा पुष्टि गर्नुपर्ने उसले बताएको छ।

त्यसैले सो अवधिमा धेरै विद्यार्थी पूर्णतः आफ्नै परिवारमा, अनुमति भएको अवस्थामा पार्टटाइम काम र उनीहरुको आफ्नै बचतमा निर्भर रहनु पर्ने पनि दूतावासले प्रष्ट्याएको छ।

याे पनि : अष्ट्रेलियाका समकक्षीलाई फोन गरेर परराष्ट्रमन्त्रीले गरे नेपालीको सुरक्षा गर्न आग्रह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .