राजनीति


विद्या भण्डारीले अहिलेसम्म एमालेको अध्यक्ष बन्न आउँदैछु भन्नुभएको छैन : राई

विद्या भण्डारीले अहिलेसम्म एमालेको अध्यक्ष बन्न आउँदैछु भन्नुभएको छैन : राई

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १३:१४, काठमाडौँ

नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना ब्यक्त नगरेको बताएका छन्।

बुधबार खोटाङमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू भण्डारीकै जिल्लाबासी र लामो समयसँगै राजनीति गरेकोले धेरै कुरामा भण्डारीसँग संवाद भइरहने उल्लेख गरे। 

आफूसँगको संवादमा भण्डारीले हालसम्म पनि सक्रिय राजनीतिमा फर्कने आसय व्यक्त नगरेको राईको भनाइ छ। ‘नेकपा एमालेको स्थायी कमिटी सदस्य र उहाँसँग  एक प्रकारले जिल्लावासीको नाताले पनि पार्टीमा लामो समयसँगै काम गर्दै आएको हिसाबले हाम्रो संवाद हुने गर्छ,’ उनले भने, ‘आजको मितिसम्म उहाँ सक्रिय राजनीतिमा फर्कने कुरा अझ नेकपा एमालेको अध्यक्ष बन्न आउँदैछु भन्ने कुरा उहाँले व्यक्त गरेको कुरा मैले र हामीले सुनेका छैनौँ।’

आफूहरु पार्टीको जिम्मेवार पदमा रहेको र भण्डारी एमलेकै पूर्वउपाध्यक्ष र एमालेकै तर्फबाट राष्ट्रपति समेत भएकाले उनलाई स्वागत गर्न जानु दायित्वभित्र पर्ने राईले बताए।

‘दुईवटा कार्यक्रमको सम्बन्धमा कोसी प्रदेशमा केही दिनअगाडि  उहाँ आउनुभयो,’ उनले भने, ‘पहिलो महिला जनप्रतिनिधिहरूको राष्ट्रिय भेला विराटनगर महानगरपालिकाले आयोजना गरेको थियो। त्यसमा देशभरिका महिला जनप्रतिनिधि उपाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो। त्यस कार्यक्रममा उहाँ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो। पूर्वराष्ट्रपतिज्यू कोसी प्रदेशमा आउँनु हुँदा हामीले उहाँलाई स्वागत गर्नुपथ्र्यो, हामीले स्वागत पनि गर्यौँ। उहाँ नेकपा एमालेको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ र नेकपा एमालेकै पृष्ठभूमिमा उहाँ देशकै यो उचाइमा पुग्नुभएको  हो। उहाँलाई हामीले स्वागत गर्नुपथ्र्यो त्यो गर्‍यौँ।’ 

राईले विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्कर्दै गरेको अथवा अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्न लागेको भन्ने कुरामा सत्यता नभएको समेत बताए। ‘बजारमा अहिले यस प्रकारका हल्लाले ठाउँ पाएका छन्’ राईले भने, ‘तर उहाँले यस्ता कुरा अभिव्यक्त गर्नुभएको छैन। ’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad