राजनीति


सर्वोच्चमा न्यायाधीश नियुक्ति: कांग्रेस कोटाबाट पोखरेल, एमालेलाई सिट खाली

सर्वोच्चमा न्यायाधीश नियुक्ति: कांग्रेस कोटाबाट पोखरेल, एमालेलाई सिट खाली

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १८:५३, काठमाडौँ

सर्वोच्च अदालतमा तीनजना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद्को बैठकले पहिलो नम्बरमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, दोस्रोमा श्रीकान्त पौडेल र तेस्रोमा शान्ति सिंह थापालाई सिफारिस गरेको हो। 

पहिलो नम्बरमा सिफारिस भएका पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पनि हुन्। उनी कम्पनी तथा वाणिज्य कानुनका विज्ञ मानिन्छन्। 

अरू दुई जना उच्च अदालतका मुख्य न्यायाधीश हुन्। पौडेल उच्च अदालत जनकपुरमा र थापा उच्च अदालत दीपायलमा कार्यरत छन्।

सर्वोच्च अदालतमा चार जना न्यायाधीशको पद रिक्त छ। तर, एउटा सिट खाली राखेर तीन जना मात्र सिफारिस गरिएको छ। जबकि, संविधान र कानुनले पद रिक्त राख्ने छुट दिएको छैन। कुनै न्यायाधीश नियमित अवकाशमा गएर पद रिक्त हुँदै छ भने एक महिनाअगावै पदपूर्तिको व्यवस्था गर्नुपर्ने कानुनी व्यवस्था छ। त्यस्तै अपर्झट कुनै कारणले न्यायाधीश पद रिक्त हुन गएमा त्यसको एक महिनाभित्र नयाँ नियुक्त गरिसक्नुपर्ने व्यवस्था छ।

तर, सर्वोच्चमा खाली रहेको एउटा यस्तो पद हो, जुन २०७८ जेठ १३ देखि खाली छ। तत्कालीन न्यायाधीश पुरूषोत्तम भण्डारी ६५ वर्षे उमेर हदका कारण अवकाशमा गएयता सर्वोच्चको फुलकोर्ट कहिल्यै पनि पूर्ण हुन सकेको छैन। यसबीचमा धेरै चरणमा न्यायाधीश नियुक्तिको सिफारिस गर्दा सिट खाली राख्ने गरिएको छ।

स्रोतका अनुसार यसपालि एमालेको कोटाबाट एक जना न्यायाधीश हुने कानुन व्यवसायीको नाम टुंगो नलागेपछि खाली राखेर बाँकी तीन जना सिफारिस गरिएको हो। पहिलो नम्बरमा सिफारिस भएका पोखरेल भने कांग्रेसको कोटामा परेका हुन्। 

उनी यसअघि कांग्रेसनिकट कानुन व्यवसायीकै समूहबाट सर्वोच्च बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका थिए। तर, उनको व्यावसायिक क्षमता र निष्ठामा पनि प्रश्न उठेको छैन।

संविधानले सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था गरेको छ। हाल १७ जना न्यायाधीश मात्र कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad