सभामुख देवराज घिमिरेसँग नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा आर्थिक तथा श्रम सम्बन्ध र संसदीय आदानप्रदानबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
भेटमा सभामुख घिमिरेले नेपाल र जोर्डन प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक भएकाले दुवैतर्फबाट पर्यटन विकासको क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको बताए। ‘नेपाल सगरमाथाको देश भएकाले जोर्डनी नागरिकलाई हिमाल आरोहणका लागि हामी प्रोत्साहित गर्दछौँ’, उनले भने।
सभामुख घिमिरेले सन् २०१७ मा दुई देशबीच द्विपक्षीय श्रमसम्झौता भएपछि जोर्डनमा करिब तीन हजार नेपाली कामदार विशेषगरी महिला कामदार घरेलु काम तथा गार्मेन्ट सेक्टरमा कार्यरत रहेको बताए।
‘ठूलो सङ्ख्यामा नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकामा जोर्डनी जनता तथा सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु। श्रम आप्रवासनका क्षेत्रमा थप सहकार्य गर्ने सम्भावनाको खोजी गरिनुपर्छ भन्ने मलाई लागेको छ’, उनले भने।
जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले दुई मुलुकबीच अन्तरराष्ट्रिय व्यापार सम्बन्ध वृद्धि गर्ने प्रचुर सम्भावना रहेको बताउँदै त्यसबाट दुवै मुलुकले फाइदा लिनसक्ने बताए। उनले जोर्डनमा नेपाली कामदारलाई आफ्नो मुलुकले पारिश्रमिक र सामाजिक सुरक्षा सम्झौताबमोजिम प्रदान गरिरहेको जानकारी दिए।
नेपाल र जोर्डनबीच १९६५ अगस्ट २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकबीचको सम्बन्ध प्रगाढ र सुदृढ रहेको बताए। रासस

प्रतिक्रिया