राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त गरेको छ।
प्रचण्डले कार्यकर्तालाई हिंसा भड्काउन उक्साएको भन्दै राप्रपाले खेद व्यक्त गरेको हो।
राप्रपाले मंगलबार विज्ञप्ति जारी गरी पार्टीको कार्यक्रममा माओवादी भ्रातृ संगठन वाइसीएलबाट अवरोध भएको भन्दै आपत्ति जनाएको हो।
‘स्वर्गबासी राजा वीरेन्द्र र दिवंगत राजपरिवारको सम्मान र सम्झनामा जेठ १९ गते साँझ कमलादी मन्दिरमा राजपरिवारको समेत उपस्थितिमा आम जनताले श्रद्धाञ्जली अर्पण र दीप प्रज्वलन गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट वाइसिएलबाट भएको अवरोधको प्रयासको राप्रपा सशक्त विरोध गर्दछ’ प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्व प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन गर्नुभएको उक्साहटप्रति राप्रपा खेद व्यक्त गर्दछ। यस्ता कार्य जारी रहेमा राप्रपाले आगामी दिनमा सशक्त प्रतिवाद गर्नेछ।’
साथै, राप्रपाले जारी आन्दोलनलाई निश्कर्षमा पुऱ्याउन पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। आन्दोलनप्रति भ्रम फैलाउने कार्यकर्तालाई कारबाही गर्ने राप्रपाले चेतावनी दिएको छ।

Shares

प्रतिक्रिया