राजनीति


दुर्गा प्रसाईँका दुवै बडीगार्ड रिहा

दुर्गा प्रसाईँका दुवै बडीगार्ड रिहा

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १३:५३, काठमाडौँ

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका अगुवा दुर्गा प्रसाईँका दुवै अंगरक्षक रिहा भएका छन्। 

प्रसाईँसँगै भारतबाट पक्राउ परेका दीपक खड्का र त्यसअघि नै पक्राउ परेका रामकुमार धिमाल तीनकुने र आसपासमा भएका आगजनी र तोडफोडमा संलग्न रहेको प्रमाण नदेखिएकाले रिहा गर्ने निर्णय भएको हो। उनीहरूलाई अभियोगपत्र दायर गर्नु पहिले नै सरकारी वकिल कार्यालय काठमाडौँले रिहा गर्ने निर्णय गरेको हो। 

दुवैजना आइतबार बेलुका नै रिहा भएका हुन्। खड्का र धिमाल यसअघि प्रसाईँसँगै सर्वोच्च अदालतमा प्रवेश गर्दा पनि पक्राउ परेका थिए। अहिले पनि उनीहरूविरुद्ध हातहतियारको कसुरमा मुद्दा विचाराधीन छ। 

तर यसपटक यो मुद्दामा भने उनीहरूलाई प्रतिवादी नबनाउने निर्णय भएको हो। उनीहरू दुई जनासँगै गोपिकृष्ण खड्का, सन्तोष चौधरी, एनी कुँवर भन्ने अनिता कुँवर, शिशिर जिसी, खेमराज सेढाई, मिनोज थापा र अनिल बस्नेतलाई कसुरमा संलग्न देखिएको प्रमाण नभेटिएको भन्दै रिहा गर्ने निर्णय भएको हो। उनीहरू आइतबार साँझ रिहा भएका हुन्। 

आपराधिक उपद्रवको कसुरमा अनुसन्धानका लागि म्याद थप गरिएका अरू २६ जनालाई पनि त्यसै दिन रिहा गरिएको थियो। यसअघि उनीहरूलाई पनि विभिन्न कसुरमा संलग्नता देखिएको दाबी गर्दै प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो। 

तर प्रहरीले प्रतिवेदन बुझाउँदा प्रमाण दिन नसकेको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो। दुर्गा प्रसाईँसहित ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा र चार जनाविरुद्ध बाल अदालत भक्तपुरमा अभियोग दर्ता भएको छ। न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा उनीहरूको बकपत्र भइरहेको छ। यसपछि बहस र थुनछेक आदेश हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad