भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले संसद् अवरोध गरेका छन्।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका तर्फबाट माओवादी केन्द्रका वर्षमान पुनले राजीनामा नदिएसम्म संसद् संचालन हुन नदिने बताए।
‘यस सम्बन्धमा गृहमन्त्रीजीले राजीनामा दिएर मार्गप्रसस्त गरिदिनुहोस् भनेर हाम्रो विनम्र अनुरोध छ। उहाँको संलग्नता छ भनेर हामीले दाबी गरेका छैनौं,’ पुनले भने, ‘तर, यति गम्भीर विषय उठेपछि स्वयं गृहमन्त्रीले नै राजीनामा दिएर सहज वातावरण बनाइदिनुहोस्।’
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीको राजीनामा आउनुपर्ने माग गरे। ‘यदि कुनै मन्त्रीमाथि प्रश्न उठ्यो, राज्यका कुनै निकायले छानबिन गर्नुपर्यो भने त्यस्तो मन्त्री त्यो पदमा रहन पाउनुहुन्न,’ उनले भने, ‘त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ।’
यसैबीच सभामुख देवराज घिमिरेले सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिन खोजेपछि गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले संसद्मा नाराबाजी सुरु गरेका छन्।
Shares

प्रतिक्रिया