चीनको साताव्यापी भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई चिनियाँ नेताले नेपालका वामपन्थी पार्टीहरूबीचको एकताका लागि पहल गर्न सुझाव दिएका छन्।
सोमबार बेइजिङमा आयोजित छिमेकका राजनीतिक दलहरूसँगको संवाद कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले भण्डारीलाई यस्तो सुझाव दिएका हुन्।
कार्यक्रममा सहभागी नेकपा एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापाका अनुसार पूर्वराष्ट्रपति भण्डारी उक्त कार्यक्रमको प्रमुख अतिथि थिइन्। कार्यक्रमपछि जियानचाओ र भण्डारी नेतृत्वको प्रतिनिधिमण्डलबीच करिब डेढ घण्टा कुराकानी भएको थियो।
उक्त कुराकानीमा भण्डारीलाई चिनियाँ नेताले नेपालको वरिष्ठ राजनीतिज्ञ भनेर सम्बोधन गर्दै जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्तभित्रै नेपालका वामपन्थी पार्टीहरूबीचको एकताका लागि लाग्न आग्रह गरे।
‘चीनले उहाँलाई उच्चस्तीय सम्मान दियो, उहाँलाई नेपालको वरिष्ठ राजनीतिज्ञको रूपमा सम्मान दियो,’ थापाले बेइजिङबाटै नेपालखबरसँग भने, ‘नेपालको वामपन्थी आन्दोलनलाई एकताबद्ध पार्ने र नेपाललाई स्थायित्वतर्फ लैजानको निम्ति वापमन्थीहरूको एकता जनताको बहुदलीय जनवादको सिद्धान्तभित्र ल्याएर सम्पन्न गर्नुहोस् भनेर उहाँले भन्नुभयो।’
चिनियाँ नेताले दिएको दोस्रो सुझावका रूपमा नेपालका वामपन्थी र अन्य दलहरूबीच पनि एकता कायम गर्नका लागि पहल लिन भनेका छन्। थापाले भने, ‘नेपालको विकासमा निम्ति पनि सबै दल र वामपन्थीहरूबीचको एकताको नेतृत्व पनि गर्नुहोस् भन्नुभयो।’
नेपाल र चीनको बीचमा भएका सम्झौताको कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध भएको भन्दै ती चिनियाँ नेताले त्यसका निम्ति नेपालले वातावरण बनाउनुपर्नेमा समेत जोड दिएको थापाले जानकारी दिए।
उनका अनुसार चीनले नेपालका राजनीतिक दलहरूप्रति नै भरोसासमेत व्यक्त गरेको छ।
‘नेपालका राजनीतिक दलहरूले नेपाली जनताको आसा, भरोसा र विश्वासलाई अगाडि बढाउँछन् भन्नुभयो,’ थापाले भने, ‘दलहरूप्रति नै विश्वास रहेको भन्नुभयो।’

विभिन्न ४२ देशका राजनीतिज्ञ एवं कूटनीतिज्ञहरू सहभागी भएको कार्यक्रममा नेपालबाट एमाले नेताहरू रघुवीर महासेठ र कर्णबहादुर थापाले पनि प्रस्तुति दिएका थिए।
पूर्वराष्ट्रपति भण्डारी उद्योगमन्त्री दामोदर भण्डारीसहित एमाले नेताहरू सहभागी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएकी हुन्।
चिनिया नेता चियानचाओले दुई देश असल छिमेकी भएको भन्दै कूटनीतिक सम्बन्ध स्थापनाको वार्षिकोत्सवलाई नेताहरूले महत्त्व दिएको बताए।
‘हामी पहाड र नदीले जोडिएका असल छिमेकी र असल साथी हौं। कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवलाई दुई देशका नेताहरूले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्ने, एकअर्काको मुख्य हित र प्रमुख चासोसँग सम्बन्धित मुद्दाहरूमा एकअर्कालाई दृढतापूर्वक समर्थन गर्ने र संयुक्त प्रयासहरूलाई तीव्र पार्ने अवसरको रूपमा लिन चीन नेपालसँग काम गर्न तयार छ। बेल्ट एण्ड रोड जस्ता क्षेत्रहरूमा व्यावहारिक सहयोगले साझा भविष्यको साथ नजिकको चीन–नाइजेरिया समुदायको निर्माणलाई प्रवर्द्धन गर्नेछ। चीन–निकारागुआ सम्बन्धको विकासलाई प्रवर्द्धन गर्न अन्तर–पक्षीय आदानप्रदानले महत्त्वपूर्ण भूमिका खेल्छ। चिनियाँ कम्युनिस्ट पार्टी हात मिलाउन तयार छ’ उनले भने।
Shares

प्रतिक्रिया