राजनीति


पदाधिकारी बैठकमा रमेश लेखक- पार्टीलाई अप्ठ्यारोमा पार्दिनँ, राजीनामा दिन तयार छु

देउवाले भने- त्यो पर्दैन
पदाधिकारी बैठकमा रमेश लेखक- पार्टीलाई अप्ठ्यारोमा पार्दिनँ, राजीनामा दिन तयार छु

फाइल तस्बिर


सन्तोष अधिकारी
जेठ १२, २०८२ सोमबार १४:४३, काठमाडौँ

भिजिट भिसा प्रकरणमा निकटस्थ कर्मचारीहरू जोडिएपछि गृहमन्त्री रमेश लेखकले पार्टीलाई अप्ठ्यारो नपार्न राजीनामा दिन तयार रहेको बताएका छन्। सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरू सामेल बैठकमा लेखकले प्रष्टीकरण दिएका हुन्। 

बैठकको सुरुवात नै भिजिट भिसा प्रकरणबाट भएको थियो। सभापति शेरबहादुर देउवासहितका नेताले लेखकलाई यसबारे प्रष्टीकरण दिन आग्रह गरेपछि लेखकले आफ्नो धारणा राखे। उनले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको विषय पटकपटक बैठकमा दोहोर्‍याउँदै मार्ग प्रशस्त गर्न तयार रहेको बताए। 

'यसमा मेरो कुनै संलग्नता छैन। पार्टीभित्रैबाट पनि असहयोग भयो। शेखर डाक्सापहरू सहितबाट सार्वजनिक बेइज्जती गर्ने काम भयो,' लेखकलाई उद्धृत गर्दै एक पदाधिकारीले नेपालखबरसँग भने, 'मेरो कारणले पार्टीलाई अप्ठ्यारो नै परेको भए म राजीनामा दिन तयार छु। मार्ग प्रशस्त गरिदिन्छु। होइन भने मेरो दोष केही छैन।'

उनले नेताहरूलाई आफ्नो विगत केलाएर हेर्न र आफूमाथि मूल्यांकन गर्न पनि आग्रह गरे।

'सबैलाई मेरो आग्रह छ- मेरो विगत हेर्नुस्। मबाट यस्तो हुनै सक्दैन। यति हुँदाहुँदै पनि पार्टीले, पार्टीका नेताहरूले असहयोग नै गर्ने भए म राजीनामा गर्न तयार छु' उनले भने। 

सभापति देउवाले लेखकलाई ढाडस दिँदै  राजीनामा दिनु नपर्ने बताए। 

'यसलाई मैले/हामीले पनि नियालिरहेका छौँ। राजीनामा दिनुपर्दैन,' देउवाले भने, 'आफ्नो काम के हो, गर्दै जानू। यस विषयमा धेरै चिन्ता लिनुपर्दैन।'

आजको बैठकले लेखकले पदबाट राजीनामा दिनु नपर्ने निष्कर्ष पनि निकालेको छ। पार्टीभित्र र विपक्षी दलका नेताहरूले राजीनामाको माग गरिरहँदा बैठकले गृहमन्त्री निर्दोष रहेको निष्कर्ष निकालेको हो।  

'हामीले उहाँ (लेखक)को कुरालाई पूर्ण रुपमा विश्वास गर्‍यौँ। उहाँको भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन। तर, जो संलग्न छन्, तीमाथि कारबाही हुनुपर्छ र निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा दुई मत छैन,' बैठकपछि प्रवक्ता डा प्रकाशशरण महतले भने, 'भिजिट भिसाको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने कुरा हाम्रो लागि मान्य छैन। जहाँसम्म गृहमन्त्रीको कुरा छ, उहाँ यसमा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त भयौँ।'   

कांग्रेसले यसलाई राजनीतिक रुपमा बदनाम गर्न गरिएको प्रचारबाजी ठहरसमेत गरेको छ। कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले भिजिट भिसा प्रकरणमा लेखकको संलग्नता नै नहुँदा लाञ्छना लगाउने काम भइरहेको बताए। 

'उहाँ (लेखक) को कुरा सुनेर म छर्लङ्ग भएँ। उहाँको कुनै किसिमको गल्ती छैन। एक इन्च पनि गलत गर्नुभएको छैन। लाञ्छना लगाइएको छ, यो गलत हो। भोलि उहाँ हाउसमा (संसद्‌) बोल्नुहुन्छ।    

पूर्वमहामन्त्री कोइरालाले बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिने पार्टीका तीन नेतालाई स्पष्टीकरण सोध्न प्रस्ताव गरिएको पनि बताए।  उनले डा शेखर कोइराला, राजेन्द्र बजगाईं र सुनील शर्मालाई स्पष्टीकरण सोध्नुको विकल्प नभएको बताएका हुन्। 

'नेताहरूलाई बोलाउनुस्, समाधान निकाल्नुस् र उहाँहरूलाई केके कुरा भएको हो सोध्नुस्,' उनले भने, 'शेखर, सुनील शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्नुस् भनेर प्रस्ताव गरेँ। सभापति (सभापति शेरबहादुर देउवा) ले केही भन्नुभएन। हेर्छु मात्रै भन्नुभयो। मलाई लाग्छ, यो गर्नैपर्छ। उपाय छैन।'

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकका निकटस्थ उच्च अधिकारी एवं सचिवालय सदस्यहरू संलग्न रहेको आरोप लागेको छ। यसै विषयलाई लिएर पार्टीभित्रका केही नेता र अन्य प्रतिपक्षी दलका नेताहरूले उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरिरहेका छन्। 

भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यसमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईसहितका कर्मचारी मुछिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad