राजनीति


गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष

नेपालखबर
जेठ १२, २०८२ सोमबार ११:२६, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ। 

पार्टीभित्रै गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको थियो। बैठकपछि एक पदाधिकारीले नेपालखबरसँग भने, ‘गृहमन्त्रीमाथिको आरोप मिथ्या हो। यही आरोपको आधारमा उहाँले पदबाट राजीनामा दिनुपर्छ भन्ने हुँदैन।’ 

कांग्रेसले यसलाई राजनीतिक रुपमा बदनाम गर्न गरिएको प्रचारबाजी भएको ठहरसमेत गरेको छ। 

‘गृहमन्त्रीले राजीनामा नदिने पक्षमा अडान लिने निष्कर्ष पदाधिकारी बैठकले निकालेको छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘यो प्रकरणमा सम्बन्धित निकायले गरेको छानविनमा हामी सहयोग गर्छौँ। तर, हामीले बुझे अनुसार उहाँ (रमेश लेखक)को संलग्नता कतै पनि देखिँदैन।’

कर्मचारीले गलत गर्दा मन्त्रीले राजीनामा दिनुपर्छ भन्ने नहुने पनि उनले बताए। ‘स्वास्थ्य मन्त्रालयका पनि धेरै कर्मचारी अहिले अख्तियारको छानविनको दायरामा छन्। अरु मन्त्रालय र प्रधानमन्त्रीको सचिवालयमा पनि त्यस्ता कर्मचारी होलान्,’ उनले भने।

आफ्नै पार्टीबाट गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणको आरोपमा मुछिएको र उनको राजीनामा मागिएका बेला कांग्रेस पदाधिकारी बैठक बसेको हो। 

गृहमन्त्री लेखकलाई लागेको भिजिट भिसा प्रकरणको आरोपका कारण कांग्रेस अहिले सकसमा छ। 

भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको छ।

उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दबाब कांग्रेसकै नेताहरूले दिइरहेका छन्।  यो विषय आइतबार बसेको सरकार नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठकमा समेत उठेको छ। 

तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा गृहमन्त्रीकै दल कांग्रेसले निर्णय गर्नुपर्ने धारणा राखेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad