भारतीय राज्य बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका जेठा छोरा तेजप्रताप यादव यतिबेला चर्चामा छन्।
तेजप्रतापले गत शनिबार फेसबुकमा एक युवतीसँग प्रेम सम्बन्ध देखाउने किसिमको सँगै बसेको तस्बिर सार्वजनिक गरेपछि उनी विवादमा परेका हुन्। त्यो तस्बिरको क्याप्सनमा लेखेअनुसार ती युवतीको नाम अनुष्का यादव हो र उनीहरू १२ वर्षदेखि प्रेममा छन्।
यसले परिवार र राजनीतिक वृत्तमा खैलाबैला मच्चिएपछि भारतको राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालु यादवले आफ्ना छोरालाई परिवारका साथै पार्टीबाट ६ वर्षका लागि निष्कासन गरेका छन्।
छोरालाई कारबाही गर्दै लालुले भनेका छन्, ‘निजी जीवनमा नैतिक मूल्य-मान्यताहरूलाई बेवास्ता गर्नाले सामाजिक न्यायका लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर बनाउँछ। जेठो छोराका गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्य-मान्यता र परम्पराअनुरूप छैनन्। त्यसैले...म उनलाई पार्टी र परिवारबाट हटाउँछु। अबदेखि पार्टी र परिवारमा उनको कुनै पनि प्रकारको भूमिका हुनेछैन। उनलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ।’
यसपछि झन् चासो बढेको छ- आखिर को हुन् अनुष्का यादव?
भारतीय सञ्चारमाध्यमका अनुसार उनको परिवार पटनाको लङ्गारटोलीमा बस्छ। अनुष्काको बुबाको नाम मनोज यादव हो। अनि अनुष्का आरजेडीकै विद्यार्थी शाखाका पूर्वप्रदेश अध्यक्ष आकाश यादवकी बहिनी हुन्। आकाशलाई तेजप्रतापले नै आरजेडीको विद्यार्थी शाखाको प्रदेश अध्यक्ष बनाएका थिए। तर आरजेडीका प्रदेश अध्यक्ष जगदानन्द सिंहले आकाशलाई प्रदेश अध्यक्ष पदबाट हटाएर यो जिम्मेवारी गगन यादवलाई सुम्पिए।
तेजप्रताप र जगदानन्दबीच झगडा
आकाशलाई आरजेडी विद्यार्थी शाखा बिहार प्रदेश अध्यक्ष पदबाट हटाइएपछि रिसाएका तेजप्रतापले उनीविरुद्ध मोर्चा खोलेका थिए। उनले जगदानन्दसिंह विरुद्ध अदालत जाने पनि बताएका थिए। यसबाट जगदानन्द सिंह यति दु:खी भए कि उनले पार्टी नै छाड्ने सोचसमेत बनाएका थिए।
यद्यपि, लालु यादवले हस्तक्षेप गरे र जगदानन्द सिंहलाई पार्टीमा रहन मनाए। यो विषयलाई तेजप्रताप यादव र तेजस्वी यादवबीच पार्टीमा वर्चस्वको लडाइँका रूपमा हेरियो।
तेजप्रतापको व्यवहार देखेर आरजेडीमा विघटनको बारेमा समेत चर्चा चल्यो। तेजप्रतापले आफूलाई आरजेडीका गतिविधिबाट टाढा राखेका थिए र लालु-राबडी मोर्चाको नामले आफ्ना गतिविधि तीव्र बनाएका थिए। तर पछि लालु यादवको सक्रियताका कारण आरजेडीभित्रको यो आँधी थामिएको थियो।
यसैबीच तेजप्रतापले फेसबुकमा अनुष्का यादवसँगको तस्बिर पोस्ट गरेर आफ्नो १२ वर्ष पुरानो सम्बन्धको खुलासा गरेका छन्।
यस क्रममा पशुपति पारसको पार्टीमा हाल युवा एकाइको राष्ट्रिय अध्यक्ष रहेका आकाशको नाम पनि चर्चामा आएको छ।
यस्तो थियो फेसबुक पोस्ट
गत शनिबार साँझ तेजप्रताप यादवले फेसबुकमा दुईपटक अनुष्कासँगको फोटो पोस्ट गरे आफूहरू १२ वर्षदेखि प्रेम सम्बन्धमा रहेको भन्दै। व्यापक टिकाटिप्णी हुन थालेपछि केही समयपछि उनले त्यो पोस्ट डिलिट गरे र एक्समार्फत आफ्नो फेसबुक ह्याक गरिएको र आफ्नो बदनाम गर्न कसैले इडिट गरेर त्यस्तो तस्बिर राखिदिएको दाबी गरे।
तर त्यतिबेलासम्म लालु यादव परिवार र पार्टीको बदनाम भइसकेको थियो। त्यसैकारण लालु यादवले आइतबार छोरो तेजप्रतापलाई पार्टी र परिवारबाट ६ वर्षका लागि निष्कासन गरेको घोषणा गरे।
विवाहित हुन् तेजप्रताप
तेजप्रताप पहिले विवाहित हुन्। उनले सन् २०१८ मा पूर्वमुख्यमन्त्री दरोगा प्रसाद रायकी नातिनी तथा पूर्वमन्त्री चन्द्रिका रायकी छोरी ऐश्वर्यासँग बिहे गरेका थिए।
तर केही महिनापछि नै उनीहरू सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगे। हाल यो मुद्दा पारिवारिक अदालतमा विचाराधीन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
तेजप्रताप हसनपुरका विधायक हुन् भने हाल माल्दिभ्स भ्रमणमा छन्। अब उनको विधायक पद के हुन्छ भन्ने पनि चर्चा भइरहेको छ।
Shares

प्रतिक्रिया