नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठले पुल बनाउने काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई खोलामा गाड्ने चेतावनी दिएका छन्। बाराको पर्सौनी र कलैया जोड्ने बंगरी नदीमाथिको पुल निर्माण समयमै सम्पन्न नभएको भन्दै सांसद श्रेष्ठ आक्रोशित भएका हुन्।
उक्त पुल निर्माणको ठेक्का १३ वर्षअघि लागेको हो। तर पुल अहिलेसम्म पनि निर्माणाधिन छ।
'आज बेलुकासम्म एउटा एक्साभेटर र डोजर यहाँ देख्नुपर्यो। डीईसापले ग्याबिन झारिदिनू,' पुल निरीक्षणमा पुगेका उनले चेतावनी दिँदै भने, '१५ गते ठेकेदारसाप सुन्नुस् है फेरि मैले नत्र खोलामा गाड्छु।'
उक्त पुल १३ वर्षअघि करिब ६ करोड रुपैयाँमा ठेक्का लागेको श्रेष्ठको भनाइ छ। उनले यसपटक पनि काम सम्पन्न नभए ठेकेदारलाई आफूजत्तिको नराम्रो कोही नहुने चेतावनी दिए।
'अब भोलि भएन भने म जत्तिको नराम्रो कोही हुँदैन। अब सैह्य हुँदैन,'ठेकेदारलाई चेतावनी दिँदै थप भने, 'डीई सापलाई पनि भनेको थिएँ सरकारले दिँदैन भने म व्यक्तिगत खर्च गरेर गर्छु भनेको थिएँ। त्यसपछि डीईसापले यसकै बजेट छ त्यही गर्च गरौँ भन्नु भएको छ।'
स्थानीयले आफूलाई ०७९ को प्रतिनिधिसभाको निर्वाचनको बेलामा पुग्दा उक्त पुल बनाइदिन आग्रह गरेको सुनाए।
उनले नेपालखबरसँग भने, '१२-१३ वर्षदेखि अलपत्र परेको पुल हो यो। निर्वाचनको बेलामा म त्यहाँ पुग्दा पुल बनाइदिन आग्रह गरे। त्यति बेला मैले जसरी पनि बनाउँछु भनेको थिएँ।'
आफूले ०८० साल कात्तिक २१ गते पुल उद्घाटन गर्न खोजे पनि पूरा नभएको बताए। रातो किताबबाटै हटेको योजना आफूले पुन: थप गरेको सुनाए।
ठेकेदारले कामै नगरेपछि आफूले आज डीई र ठेकेदारलाई लिएर पुलमा गएर निर्देशन दिएको उनको भनाइ छ।
'जेठ १५ गते यो पुलबाट मेरो गाडी तार्नुपर्यो होइन भने यही खोलामै गाड्छु भनेकै हो' उनले भने।
Shares

प्रतिक्रिया