राजनीति


प्रधानमन्त्रीलाई बालेनको जवाफ: सरी, तपाईंको भ्रष्ट प्रणालीलाई सहयोग गर्न सक्दिनँ

प्रधानमन्त्रीलाई बालेनको जवाफ: सरी, तपाईंको भ्रष्ट प्रणालीलाई सहयोग गर्न सक्दिनँ

नेपालखबर
जेठ ५, २०८२ सोमबार २१:५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिएका छन्। आफूले बोलाएको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा नगएपछि बालेनलाई संकेत गर्दै सोमबार दिउँसो प्रधानमन्त्री ओलीले अबदेखि नबोलाउने टिप्पणी गरका थिए।

त्यसको जवाफमा साँझ बालेनले सामाजिक सञ्जाल मेटामार्फत ओलीलाई भ्रष्टाचारीको नाइके भएको आरोप समेत लगाएका छन्। उनले आफूले भ्रष्टाचार रोक्छु भन्दा देशका सबै पार्टीका सबै लागेर भ्रष्टचारी जोगाउन लागेको पनि आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टचार रोक्छु भन्दा, देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ। त्यसको नाइकेको कार्यक्रममा म गइदिनु पर्ने? सरी केपी ओली, म तपाईंको भ्रष्ट प्रणालीलाई सहयोग गर्न सक्दिनँ।’

त्यसअघि दिउँसो ओलीले बालेनलाई लक्षित गर्दै भनेका थिए, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ की क्या हो। कोही कोही मान्छे हरेक फंग्सनमा राख्ने गर्दछौँ। कहिल्यै देखा पर्दैन। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् की जस्तो लाग्छ। कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने। यस्तो हुँदैन।’

अर्को पल्टसम्ममा सोधीखोजि गर्न र रेकर्ड हेरेर एक पटक पनि नआउनेलाई नाम नराख्न ओलीको निर्देशन थियो। ‘हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने’, ओलीले बालेनलाई लक्षित गर्दै भनेका थिए।

प्रधानमन्त्री ओली र मेयर बालेनबीच लामो समयदेखि वाकयुद्ध छ। बालेनले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गरी विवादित भन्दै फिर्ता गरेर अर्को प्रमुख प्रशासकीय अधिकृत खटाइदिन भनेका थिए।

संघीय सरकारले उनै गुरागाईँलाई बलपूर्वक कार्यालयमा प्रवेश गराएपछि बालेन रुष्ट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad