नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले महाधिवेशनको मिति तय नहुँदै कांग्रेसभित्रको गुटबन्दीप्रति चर्को असन्तुष्टि जनाएका छन्।
सोमबार नेपाली कांग्रेस कास्की क्षेत्र नंबर ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सभापति शेरबहादुर देउवा उदार भएको र सम्पूर्ण पदाधिकारीलाई स्वतन्त्र रुपले काम गर्न दिएको जिकिर पनि गरे। उनले महाधिवेशन समयमा सक्न सभापति बाधक न भएको पनि जिकिर गरे। सभापतिले अधिवेशन अगाडिका सवै प्रक्रिया टुंग्याउन पदाधिकारीलाई जिम्मेवारी दिएको बताउँदै त्यसका लागि महामन्त्रीहरु नै लाग्नुपर्ने तर्क पनि गरे।
महामन्त्रीको नाम नलिइ उनले भने,‘काम गर्नुपर्यो। म त महामन्त्री हारेको मान्छे, त्यहाँ पार्टी कार्यालयमा काम गर्नुपर्यो नि। यहाँ बाहिर भन्ने भित्र काम नगर्ने? त्यस्तो हुँदैन। अहिले पाएको जिम्मेवारी पूरा नगर्ने र अर्को जिम्मेवारीको लागि दौडेर त भएन नि।’
उनले महाधिवेशन चाँडै हुन्छ भने पनि पुरानो सदस्यता नवीकरण नभएको र नयाँ वितरण नभएकाले समयमै महाधिवेशन हुनेमा शंका व्यक्त गरे।
‘महाधिवेशन हुने टुंगो छैन, अहिलेदेखि नै हामी को महामन्त्री, को सभापति भनेर कोणसभा हुन थालिसक्यो,म पनि यो पार्टीको सभापति हुनसक्छु, तर म घोषणा गरेर हिँड्दिन। चुनाव घोषणा भएको ३ महिना अगाडि घोषणा गरे हुन्छ। कार्यकर्ताले नेता चिनेका छन्,’उनले भने,‘ हामी जिल्ला जाँदा पार्टीभित्रको अनेकतालाई कसरी संवोधन गर्नेतर्फ ध्यान दिनुपर्छ। ’
एक्लै लड्ने भन्ने तर आफू कहिल्यै एक नहुँदा परिणाम ननिस्कने पनि उनको भनाइ छ।
नेता महतले कांग्रेस अहिले एकआपसमा लडिरहेको र संगठनमा समस्या रहेको बताए। सामाजिक सञ्जालमार्फत् आफूविरुद्ध भएको आक्रमणविरुद्ध भिड्नबाट पनि कांग्रेस चुकेको उनको भनाइ छ।
‘हामी विपक्षीले गरेको प्रचारमा लागिरहेका छौँ। यहाँ हजारौँ मान्छेलाई लगाएर सामाजिक सञ्जालमार्फत् हामीमाथि आक्रमण गरिरहेको छ। भ्रम छरिरहेको छ, हाम्रो व्यक्तिगत प्रतिस्पर्धाको कारणले मलाई भनेको हैन, फलानलाई भनेको हो भनेर हामी रमाइरहेका छौँ,’उनले भने,‘ यसले हाम्रो पार्टी नै कमजोर भएको छ। हाम्रो र स्थापित पार्टीको खिलापमा सामाजिक सञ्जालमा छरिएको भ्रम चिर्न लाग्नुपर्छ। अब भाषण गरेर,आमसभा गरेर हैन सामाजिक सञ्जालमा पनि लाग्नुपर्छ।’
उनले सामाजिक सञ्जालको उपयोगमा पनि जोड दिए। अघिल्लो चुनावको उदाहरण दिँदै उनले भने, ‘हामीलाई लागेको थियो, हाम्रो संगठन छ, हाम्रा नेता गाउँगाउँ पुगेका छन्। तर, चुनावभन्दा २–३ महिना अगाडि दर्ता भएको पार्टीले सामाजिक सञ्जालमार्फत् प्रचार गर्यो। सफल भयो। अब पार्टीको समग्र संगठनमा व्यक्तिवादी सोच त्याग्नुपर्छ।’
सरकार बाध्यताको उपज
नेता महतले अहिलेको गठबन्धन सरकार बाध्यताको उपज भएको बताए। उनले हैरानीको अवस्थामा यो सरकार गठन भएको पनि जिकिर गरे। आदर्शका कुरा मात्र गरेर सरकार बाहिरै बस्ने हो भने, नीति, कार्यक्रम र बजेट कार्यान्वयन नहुने तर्क उनको थियो।
उनले कांग्रेसभित्र सत्तामा नहुँदा सत्ता चाहियो भन्ने र सत्तामा हुँदा केही भएन भन्ने प्रवृत्ति रहेको बताउँदै अगाडि भने,‘ सत्तामा नहुँदा हाम्रै साथीबाट पुलिसबाट यस्तो अन्याय भयो, प्रशासनले हाम्रो कुना सुन्दैन। अरुलाई भन्दा हामीलाई सुन्दैन। त्यसबेलामा पनि सबै आत्तिएको अवस्था थियो। सत्तामा गयो, केही भएन भन्ने छ। गठबन्धन सरकार छ। ओलीजीजस्तो प्रधानमन्त्री हुनुहुन्छ। सबै कुरा भएका छैनन् तर केही त भएको छ नि।’
‘तपार्ईंको नीति र कार्यक्रमको कार्यान्वयन सत्तामा भएको बेला हुन्छ। यो निर्वाचन पद्धतिबाट कसैको पनि बहुमत आउँदैन। त्यसलै संविधान संशोधन हुनुपर्छ। यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ। भोलि होला नहोला, दुई तिहाइ चाहिन्छ। उपल्लो सदनमा दुई तिहाइ छैन,’उनले भने,‘ यही संविधान हुँदा २०८४ मा पनि बहुमत आउँदैन। ‘वर्तमान राजनीतिक संरचना हैरानीको अवस्थामा बनेको हो र यो दीर्घकालीन सोचको उपज होइन’ उनले वर्तमान सरकारसँग धेरै असन्तुष्टि रहेको पनि बताए।
‘हाम्रा पनि धेरै असन्तुष्टि छन्, नभएको हैन। हामीले एमालेलाई भनिरहेका छौँ, यहाँ मैले जे सोच्छु त्यही ध्रुवसत्य हो भन्ने मानसिकताबाट गठबन्धन पक्ष मुक्त हुनुपर्छ,‘उनले भने,‘ यहाँ राष्ट्र बैंकको कुरा छ। हामी एउटा प्रोफेसनल आओस् भन्नेमा छौँ। भट्ट (गुणाखर)जीको कुरा आएको छ। उहाँ अमेरिकाबाट पढेर आएको। म पढ्दा उहाँ पनि पढ्दै हुनुहुन्थ्यो। साह्रै असल मान्छे। राजीनामा दिनुभयो। त्यहाँ पनि अदालत गइयो। अन्यौल नै अन्यौल। हामीले सिफारिस गरेका पात्र हाइ प्रोफेसनल छन्।’
उनले अख्तियारसहितका नियामक निकायहरुले पनि कांग्रेसमाथि बढी निगरानी गरेको आरोप पनि लगाए।
‘धेरै नियामक निकायबाट हाम्रा पार्टीका सदस्यहरुमाथि आरोप लगाइएको छ। अरु पार्टीका सबै दूधले धोएका जस्ता। हामीले पनि देखेकै हौँ, भोगेकै हौँ,’उनले भने।
महतले संघीय सरकारले साना योजनामा ध्यान केन्द्रित गर्नुको सट्टा ठूला परियोजनामा मात्र लगानी गर्नु उचित हुने धारणा राखे।
‘ मैले त मेरै पालामा पनि भनेको हो। कनिका छरेर परिणाम आउँदैन,’ उनले भने, ‘३ करोडभन्दा कम बजेटका योजना राख्नु हुँदैन।’
Shares

प्रतिक्रिया